भेरी बबई डाइभर्सनकाे सुरुङ त खनियो, विद्युत् उत्पादन संरचना निर्माण कहिले ?

परामर्शदाता नियुक्ति, बोलपत्र कागजात तयार र टेन्डर आह्वान गर्न अझै १ वर्ष समय लाग्ने देखिन्छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य छ । कार्यालयले परामर्शदाताले पेश गरेको प्रस्तावको मूल्याङ्कन गरिरहेको छ ।

काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको १२ किलोमिटर लामो सुरुङ खन्ने काम मङ्गलबार सकिएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा सुरुङ छेडिएको (ब्रेक थ्रु)को काम सम्पन्न भएको छ । सुरुङको काम सम्पन्न भइसक्दा भेरी नदीमा बाँध र विद्युत गृहको संरचनाको काम सुरु भएकै छैन ।

नेपालमै पहिलो पटक टनेल बोरिङ (टीबीएम) मेसिन प्रयोग गरी सुरुङ खन्न थालेपछि निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ बनेको हो । यसको काम २०७६ चैतमा सक्ने लक्ष्य थियो । सुरुङको काम सकिएपछि आयोजना कार्यालयले विद्युत् उत्पादन संरचना निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्ति थालेको निर्देशक सञ्जीव बराल बताउँछन् । आयोजनाको विद्युत उत्पादन संरचनामा ढिलाइ भएको स्विकार्दै उनले काम अघि बढ्न लागेको जानकारी दिए ।

परामर्शदाता नियुक्ति, बोलपत्र कागजात तयार र टेन्डर आह्वान गर्न अझै १ वर्ष समय लाग्ने देखिन्छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य छ । कार्यालयले परामर्शदाताले पेश गरेको प्रस्तावको मूल्याङ्कन गरिरहेको छ ।

आयोजनाले भेरी नदीमा निर्माण हुने बाँध, साफ्ट, पेनस्टक पाइप र विद्युत गृह निर्माणको सुपरिवेक्षण, गुणस्तर नियन्त्रण र डिजाइनको पुनरवलोकनका लागि परामर्शदाता नियुक्त गर्नेछ । आयोजनाका अनुसार आशयपत्रका आधारमा परामर्शदाता छनोट भएपछि मात्र सिभिल निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । आशयपत्रबाट छनोट भएकाले मात्रै सुपरिवेक्षणका लागि बोलपत्रमा भाग लिन पाउनेछन् ।

दोस्रो चरणअन्तर्गत बाँध, विद्युत गृह र सिँचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सुर्खेतकोे भेरीगङ्गा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ ।

भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ फिनिसिङको काम भइरहेको छ ।

सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युत गृह र सिँचाइका केही संरचना बनाउन काम अघि बढाइएको हो ।
२०६८ सालबाट आयोजना औपचारिक रुपमा अघि बढेपछि पछि राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर निर्माण अघि बढाइएको थियो । आयोजनाको मुख्य काम सुरुङमार्ग आगामी २०७६ चैतसम्म सक्नुपर्ने लक्ष्य थियो ।