वाइडबडी विमान उडाउन पाइलट अपुग

हाल १३ जना पाइलट र ९ जना को–पाइलटले विमान उडाउँदै आएका छन् । हाल नेपाल एयरलाइन्स (एनएसी)सँग दुई ओटा वाइडबडी विमान छन् । दुई ओटा वाइडबडी विमान उडाउनका लागि ७२ जना पाइलट (कोपाइलटसमेत) आवश्यक पर्छ ।

काठमाडौं । वाइडबडी विमान उडाउन पाइलट अझै अपुग छन् । एउटा वाइडबडी विमान उडाउन ३६ जना पाइलटको आवश्यकता परे पनि २२ जना पाइलटले मात्र विमान उडाउँदै आएका छन् । १४ जना पाइलट अझै अपुग छन् ।

हाल १३ जना पाइलट र ९ जना को–पाइलटले विमान उडाउँदै आएका छन् । हाल नेपाल एयरलाइन्स (एनएसी)सँग दुई ओटा वाइडबडी विमान छन् । दुई ओटा वाइडबडी विमान उडाउनका लागि ७२ जना पाइलट (कोपाइलटसमेत) आवश्यक पर्छ ।

एउटा वाइडबडी – ३३० विमान उडाउन १८ जना पाइलट र १८ जना को–पाइलटको आवश्यकता पर्छ । आवश्यकताअनुसार पाइलट नपाएकै कारण एनएसीले दुई ओटै वाइडबडी विमान पूर्णरुपमा सञ्चालनमा ल्याउन नसकेको जनाएको छ ।

नेपाल वायुसेवा निगमले केही महिनाअघि पाइलट र को–पाइलट गरी ५० जनाको आवश्यकतासम्बन्धी सूचना प्रकाशन गरेको थियो, तर २६ जनाले मात्र आवेदन दिएका छन् । आवश्यकताअनुसार पाइलट नपाएपछि निगमले पूर्णरुपमा जहाज सञ्चालन गर्न नपाएको जनाएको छ ।

पछिल्लो समय संसारभर पाइलट अभाव हुँदै गएका छन् । त्यसमाथि निगमले पाइलटलाई थोरै मात्र पारिश्रमिक दिने गरेका कारण पनि उनीहरु निजी एयरलाइन्समा बढी आकर्षित हुन थालेको उल्लेख छ ।

निगममा पनि नेपाली र विदेशी पाइलटलाई दिने पारिश्रमिकमा धेरै अन्तर छ । विदेशी पाइलटले १२ हजार डलरसम्म रकम लिन्छन् भने नेपाली पाइलटलाई ६ देखि ७ हजार डलर मात्र दिने गरिएको छ । एकै प्रकारको काम भए पनि तलब फरक फरक भएका कारण धेरै पाइलट असन्तुष्ट बन्दै गएका छन् ।

पारिश्रमिक कम भएकै कारण निगमले मागेभन्दा धेरै कम आवेदन परेको एक पूर्व पाइलटले क्यापिटललाई जानकारी दिए । उनले विदेशी र नेपाली पाइलटलाई गरिने विभेद नहटेसम्म निगमले पर्याप्त मात्रामा पाइलट नपाउने बताए ।

क्याप्टेन बन्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने गरेको छ । तर, निगमले थोरै रकम दिने भएकाले खर्च उठाउनका लागि पनि धेरै नेपालीहरु विदेशी एयरलाइन्समा काम गर्ने गरेको देखिएको छ ।