कफीको निर्यात बढ्नै सकेन, आयात ३ गुणाले बढ्यो

बोर्डको तथ्याङ्कअनुसार, २०६९/०७० मा ८५ हजार ८५८ केजी कफी निर्यात भएकोमा ६ वर्षपछि अर्थात २०७४/०७५ मा आइपुग्दा कफी निर्यात ८४ हजार २१९ केजी निर्यात भएको छ । ६ वर्षमा पनि कफी निर्यात बढ्नुको सट्टा घटेको देखिन्छ ।

काठमाडौं । नेपालमा कफी उत्पादनको राम्रो सम्भावना भएपनि लक्ष्यअनुसार विदेश निर्यात बढाउन सकिएको छैन् । नेपाली कफीको माग स्वदेशमाभन्दा विदेश बढी भएपनि परिमाणात्मक हिसावले निर्यात गर्न नसकिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्कअनुसार, २०६९/०७० मा ८५ हजार ८५८ केजी कफी निर्यात भएकोमा ६ वर्षपछि अर्थात २०७४/०७५ मा आइपुग्दा कफी निर्यात ८४ हजार २१९ केजी निर्यात भएको छ । ६ वर्षमा पनि कफी निर्यात बढ्नुको सट्टा घटेको देखिन्छ । समिक्षा अवधिको तुलनामा निर्यात २ प्रतिशतले घटेको बोर्डले जनाएको छ ।

बार्डका अनुसार, आ.व २०७०/०७१ मा निर्यात ह्वात्तै घटेको देखिन्छ । सो अवधिमा ६६ हजार १८७ केजी निर्यात भएको छ । त्यस्तै, २०७१÷०७२ मा कफी निर्यात बढेर ९९ हजार ५९४ केजी, २०७२/०७३ मा १ लाख ११ हजार १६८ केजीको परिमाणमा निर्यात भएको छ ।

त्यसपछि २०७३/०७४ बाट फेरि निर्यात घट्न थालेको देखिन्छ । सो अवधिमा ९४ हजार ६०४ केजी र २०७४/०७५ मा ८४ हजार २१९ केजीको कफी निर्यात भएको तथ्याङ्क छ । यता, कफी आयात पनि बढेको बढ्यै छ । २०६९/०७० मा ५१ हजार ७५८ केजी आयात भएकोमा आव २०७४/०७५ मा आइपुग्दा आयात ३ गुणाभन्दा बढिले आयात बढेको बोर्डले जनाएको छ ।

आव २०७०/०७१ मा ६४ हजार ३१६, आव २०७१/०७२ मा १ लाख ८ हजार ८४४, आव २०७२/०७३ मा १ लाख ५ हजार, आव २०७३/०७४ मा ९९ हजार ३६४ र आव २०७४/०७५ मा १ लाख ६३ हजार ३६३ केजी कफी आयात भएको तथ्याङ्क छ ।

सो समिक्षा अवधिमा ४८ करोड ३२ लाख २४ हजार रुपैयाँको कफी निर्यात भएको देखिन्छ भने २९ करोड ४२ लाख ३१ हजार रुपैयाँको कफी आयात भएको बोर्डले जनाएको छ । स्वदेशमै कफीको माग ६ देखि ८ हजार केजी छ । तर, उत्पादन भने बार्षिक ५१३ केजी मात्रै छ । यता, अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग र मुल्य राम्रो छ । तर, उत्पादन बढाउन नसक्दा निर्यात बढ्न नसकेको बोर्डले जनाएको छ ।

परम्परागत र स—साना जग्गामा मात्रै अहिले कफी खेती उत्पादन भएकाले पनि अपेक्षित निर्यात गर्न नसकिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले सरकारले कफी खेतीको क्षेत्र विस्तार र पूर्वाधार निर्माण गरिदिएको खण्डमा कफी उत्पादन बढाउन सकिने बताए ।

केही दिनअघि बोर्डको आयोजनामा नेपाली कफी व्यवसाय प्रवद्र्धन सम्मेलनसमेत भएको थियो । सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेटमा कफीको व्यवसायिक उत्पादन र निर्यात प्रवद्र्धनमा सरकारले बजेट छुट्याउने बताएका थिए ।