निगमले नै पाइलट कोर्स गराउने

आफूसँग भएका जहाज पाइलट नभएकै कारण सबै गन्तव्यमा उडान गर्न नसकेको निगमले बताउँदै आएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पाइलट अध्ययन गराउनका लागि आवश्यक तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्स (एनएसी)लाई चाहिने पाइलट उत्पादन गर्ने लक्ष्यअनुरुप पाइलट कक्षा सञ्चालन गर्ने भएको छ । लामो समयदेखि पाइलटको अभाव खेप्दै आएको निगमले पाइलट पूर्ति गर्नका लागि पाइलट कोर्स अध्ययन गराउने भएको हो । निगमले उत्पादन गर्ने पाइलटले निश्चित अवधिसम्म एनएसीका जहाज उडाउनु पर्ने हुन्छ ।

आफूसँग भएका जहाज पाइलट नभएकै कारण सबै गन्तव्यमा उडान गर्न नसकेको निगमले बताउँदै आएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पाइलट अध्ययन गराउनका लागि आवश्यक तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

आगामी आर्थिक वर्षदेखि पाइलट कोर्स सुरु गर्ने योजना बनाएको एनएसीले हाल प्रस्तावना पत्र तयार पारिरहेको स्रोतको भनाइ छ । निगमले अध्ययन गराउने पाइलटहरुमा विषेश गरी दुर्गम क्षेत्रका विद्यार्थीलाई विषेश प्राथमिकता दिने जनाएको छ ।

पाइलट कोर्ष अध्ययनका लागि दस जोड दुईमा विज्ञान विषय लिएर पढेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । पाइलट अध्ययनका लागि सुरुमा ३५ देखि ४० लाख रुपैयाँसम्म लाग्ने गर्दछ भने फुल पाइलट बन्नका लागि करिब १ करोडभन्दा बढी रकम लाग्ने गर्दछ ।

पाइलट कोर्सका अधिकांश विषय नेपालमै अध्ययन गराउने र विदेशमा गराउनु पर्ने मात्र विदेश लगेर अध्ययन गराउने योजना निगमको छ ।

पछिल्लो समय निगमसँग भएका दुई ओटा वाइडबडी जहाजसमेत पाइलट नभएकै कारण पूर्णरुपमा सञ्चालन भएका छैनन् । जसका कारण निगम निरन्तर ठूलो घाटामा गइरहेको छ भने सञ्चय कोषको किस्तासमेत तिर्न सकेको छैन । यस्तै चार ओटै वाई–१२ जहाज पनि पाइलट नभएकै कारण ग्राउन्डेड छन् ।