सुरज वैद्यलाई ‘भिजिट नेपाल २०११’ का राष्ट्रिय संयोजक शाक्यको सुझाव– ‘डेस्टिनेसन क्लियर गर्नुस्’

शाक्यले संयोजक सुरज वैद्यसँग पटक पटकको भेटमा डेस्टिनेसन क्लियर भएर जान सुझाव दिएको बताउँदै हालसम्म त्यसको प्रतिफल नआएको बताए । जुनसुकै काम गर्दा पनि त्यसको उद्देश्य र प्राप्ति दुवैलाई सँगसँगै लिएर जानु पर्ने अवस्था रहेकाले यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

काठमाडौं । पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष–२०११ का संयोजक योगेन्द्र शाक्यले भ्रमण वर्ष–२०२० को दिशा स्पष्ट (डेस्टिनेसन क्लियर) गर्न सुझाव दिएका छन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि कुन उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको र त्यसबाट समग्र नेपालले के फाइदा पाउछन् भन्ने विषय स्पष्ट नभएको उनको भनाइ छ ।

शाक्यले संयोजक सुरज वैद्यसँग पटक पटकको भेटमा डेस्टिनेसन क्लियर भएर जान सुझाव दिएको बताउँदै हालसम्म त्यसको प्रतिफल नआएको बताए । जुनसुकै काम गर्दा पनि त्यसको उद्देश्य र प्राप्ति दुवैलाई सँगसँगै लिएर जानु पर्ने अवस्था रहेकाले यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

सन् २०११ को नेपाल भ्रमण वर्षले १० वर्षे जनयुद्धपछिको पर्यटनलाई नयाँ रुप दिँदै बन्द हड्ताल अन्त्य गरेको, राजनीतिक दललाई पर्यटन व्यवसायमा सकारात्मक बनाएको र होम–स्टेको अवधारणालाई स्थापित गरेको शाक्यको दाबी छ ।

१० लाख पर्यटक भित्र्याउने उद्देश्य लिएको भए पनि द्वन्द्वबाट भरखरै मुक्ति पाएको नेपालमा ८ लाख पर्यटक भित्र्याउन सफल भएको भन्दै आफ्नो कार्यकाल ८० प्रतिशत सफल भएको उनको भनाइ छ ।

तर, २०२० मा आइपुग्दा सबै वातावरण राम्रो भएकाले उनले अवसरको सदुपयोग गर्न वैद्यलाई अनुरोध गरेका छन् । स्थायी सरकार, दुइटा वाइडबडी विमान तथा थप अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका बेला २० लाख पर्यटक भित्र्याउन कुनै समस्या नभएको शाक्यले बताए ।

उनले सङ्ख्यात्मक रुपमा २० लाख पर्यटक भित्र्याउने भन्दा पनि सन् २०२० ले पर्यटन क्षेत्रमा के सन्देश दिन्छ भन्ने ठूलो विषय भएकाले त्यसतर्फ पनि ध्यान जान आवश्यक रहेको बताए ।

‘अहिले नेपालको पर्यटन नीतिमा पर्यटकबाट लिने मात्र छ,’ शाक्यले भने, ‘अब लिने मात्र होइन, हामीले पर्यटकलाई के के दिने भन्ने विषय पनि स्पष्ट हुनु आवश्यक छ, यसका लागि नीति परिमार्जनमा संयोजक वैद्यले लबिङ गर्न जरुरी देखिन्छ ।’

त्यस्तै देश सङ्घीयतामा गएसँगै तीन ओटै तहले पर्यटकबाट कर उठाइरहेकाले त्यसको प्रत्यक्ष प्रभाव पर्यटकलाई परेको शाक्यले बताए । उनले करका विषयमा स्पष्ट हुन आवश्यक रहेको स्पष्ट पारे । ‘टाढा राखेर पर्यटकबाट पैसा उठाउँदा उनीहरुमा नकारात्मक असर पर्ने भएकोले कुन निकायले मात्र कर लिने भन्ने विषयमा सरकारले स्पष्ट पार्न सके २० लाख पर्यटक सहजै भित्रिने छन्,’ पर्यटन व्यवसायी शाक्यले भने ।

पछिल्लो समय संयोजक वैद्यले गरेका कामप्रति टीकाटिप्पणी भइरहेका बेला नेपाल भ्रमण वर्ष २०११ का संयोजकले भने उनको बचाउ गरेका छन् । वैद्यले गरेका काममा केही ढिलाइ भए पनि यसलाई अवसरका रुपमा लिनु पर्ने र पर्यटनभन्दा बाहिरका व्यक्ति संयोजक भएकाले कुनै लोभ लालचमा नपरी सिङ्गो पर्यटन विकासमा योगदान पुराउने आशा आफूले लिएको शाक्यको भनाइ थियो ।