नोटाम जारीपछि विमानस्थलले जहाज उडाउँदा निर्माणमा अवरोध, कन्ट्र्याक्टर असन्तुष्ट

धावनमार्ग मर्मतका लागि १० बजेदेखि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै विभिन्न एयरलाइन्स कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएपछि निर्माणमा आबद्ध ठेकेदार कम्पनी असन्तुष्ट बनेका हुन् ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म एयरपोर्ट बन्द गरेर निर्माणको काम हुने गरे पनि १० बजेपछि पनि पटकपटक एयरलाइन्सलाई उडान अनुमति दिन थालेपछि निर्माणको काम अवरुद्ध भएको भन्दै ठेकदार कम्पनीले असन्तुष्टि जनाएको छ ।

धावनमार्ग मर्मतका लागि १० बजेदेखि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै विभिन्न एयरलाइन्स कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएपछि निर्माणमा आबद्ध ठेकेदार कम्पनी असन्तुष्ट बनेका हुन् ।

गत चैत १८ देखि विमानस्थलको धावनमार्ग निर्माणका लागि एयरपोर्ट राति १० बजेदखि बिहान ८ बजेसम्म बन्द गर्न थालिएको हो । नोटाम जारी भएपछि प्राधिकरणले राति १० बजेपछि पनि फ्लाई दुबईलाई एक पटक र ड्र्यागन एयरलाई दुई पटक उडान अनुमति दिएको थियो ।

विमानस्थलले नेपाल एयरलाइन्सको जहाजलाई भने नोटाम जारी भइसकेको भन्दै ४ मिनेट समय दिन मानेको थिएन । तर त्यसको केही दिनदेखि नै २४ मिनेटसम्म समय दिएर जहाजहरुलाई उडान अनुमति दिँदै आएको थियो ।

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बरमा क्यानले चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो ।

हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले नोटाम जारीपछि विमान उडाउन अनुमति दिँदा निर्माणमा समस्या भएको बताएका छन् । विमानस्थलले आयोजनालाई निर्धारित समयमै धावनमार्ग हस्तान्तरण नगर्दा ठेकेदार कम्पनी असन्तुष्ट भएको उनको भनाइ छ ।

‘विमानस्थल हस्तान्तरण नभएसम्म हामीले काम अघि बढाउन मिल्दैन,’ प्रमुख पौडेलले भने, ‘तीन पटक म्याद थप गर्दा निर्माणमा ढिलाइ भएको छ । तर कति क्षति भयो भन्ने विषय समीक्षा गर्न बाँकी छ ।’

अहिले क्यानले अनुमति दिएर जहाजहरु सञ्चालन गरे पनि पछि धावनमार्गको काममा ढिलाइ भयो भने ठेकेदार कम्पनीले दोष देखाउने बाटो खुला भएको उनको भनाइ छ ।

विमानस्थलमा अहिले १ सयभन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित ३१ वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।