मलेसिया नखुल्दै कामदार छनोट गर्न थाले म्यानपावरले, त्यसो नगर्न विभागको चेतावनी

चौतर्फी दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत १७ गते कलिङ भिसा लागेका कामदारलाई मलेसिया जान दिने निर्णय गरेको थियो । सरकारले कलिङ भिसाका करिब ८ हजार कामदारलाई मलेसिया जाने निर्णय गरे पनि नयाँ कामदार पठाउने विषयमा भने कुनै निर्णय गरेको छैन ।

काठमाडौं । नेपाली कामदारका लागि मलेसिया औपचारिक रुपमा सुचारु नहुँदै म्यानपावर व्यवसायीहरुले मलेसिया पठाउनका लागि कामदार छनोट गर्न थालेका छन् ।

सरकारले मलेसिया जाने नेपाली कामदारमाथि आर्थिक भार परेको भन्दै भिसा र बायोमेट्रिक प्रक्रिया गर्ने संस्थालाई कारबाही गरेपछि ११ महिनादेखि नेपाली कामदारका लागि मलेसिया बन्द छ ।

चौतर्फी दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत १७ गते कलिङ भिसा लागेका कामदारलाई मलेसिया जान दिने निर्णय गरेको थियो । सरकारले कलिङ भिसाका करिब ८ हजार कामदारलाई मलेसिया जाने निर्णय गरे पनि नयाँ कामदार पठाउने विषयमा भने कुनै निर्णय गरेको छैन ।

कलिङ भिसाका लागि मलेसिया खुलेपछि नयाँ कामदारका लागि पनि मलेसिया तत्काल खुल्ने सम्भावना रहेको भन्दै म्यानपावर व्यवसायीहरुले नयाँ कामदारका लागि अन्तर्वार्ता लिन थालेका हुन् ।

काठमाडौंका विभिन्न म्यानपावर कम्पनीमा अहिले मलेसिया जाने कामदारका लागि छनोट प्रक्रिया भइरहेको छ । गत साता काठमाडौं बाहिर धनकुटामा लालधनुष म्यानपावरले मलेसिया जाने कामदारको अन्तर्वार्ता लिँदा युवाहरुबीच झडप हुँदा प्रहरीले मलेसियन कम्पनीका दुई जना प्रतिनिधिलाई पक्राउसमेत गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मलेसियाको रोजगारीले म्यानपावर व्यवसायीलाई नै अन्योल सिर्जना गरेको बताए । ‘सरकारले कलिङ भिसा खुलायो, तर अहिलेसम्म नयाँका लागि खुलाएको छैन, नयाँ कामदारको छनोट गर्न हुन्छ कि हुँदैन भनेर पनि प्रस्ट नभनेका कारण केही म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिएका हुन सक्छन्,’ गुरुङले भने, ‘अहिले कामदार छनोट गरेर राखेपछि खुलेका बेला पठाउन सजिलो हुन्छ भन्ने सोच पनि होला ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले मलेसियाको रोजगार खुल्नुअघि नै म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिनु गलत भएको बताए ।

हाल कलिङ भिसा आएकाहरुलाई मात्र मलेसिया पठाउन लागिएको बताउँदै उनले पछिका लागि अहिले नै अन्तर्वार्ता लिन नहुने बताए । ‘अहिले अन्तर्वार्ता लिइरहेका म्यानपावर कम्पनीका विषयमा विभागमा कुनै गुनासो आएको छैन, हामी यस विषयमा अनुसन्धान गर्छौं,’ उनले भने ।

उनले मलेसियासँग भएको पछिल्लो सम्झौताअनुसार कामदारको माग आए नआएको हेर्ने र त्यहीअनुसार सहमत हुने म्यानपावर कम्पनीहरुले मात्र कामदार पठाउन पाउनेसमेत बताए । ‘यदी कामदारबाट अन्तर्वार्ताका नाममा रकम असुलेको पाइएमा कारबाही हुन्छ,’ उनले भने ।