सलामसँग कुरा नमिलेपछि हिमालय एयरलाइन्सले भियतनामको बेम्बो एयरवेजलाई विमान भाडामा दिने

सलाम एयरलाई जहाज भाडामा दिन हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)बाट अनुमतिसमेत लिइसकेको थियो । तर, अन्तिममा जहाज नलाने भएपछि हिमालयले बेम्बो एयरवेजलाई भाडामा दिन तयारी थालेको हो ।

काठमाडौं । अर्बौ रुपैयाँ घाटाका कारण सञ्चालन गर्न नसकेपछि हिमालय एयरलाइन्सले एउटा विमान भियतनामको बेम्बो एयरवेजले भाडामा दिने भएको छ ।

यसअघि ओमानको सलाम एयरले भाडामा लैजाने तयारी गरेको थियो । सलाम एयरलाई जहाज भाडामा दिन हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)बाट अनुमतिसमेत लिइसकेको थियो । तर, अन्तिममा जहाज नलाने भएपछि हिमालयले बेम्बो एयरवेजलाई भाडामा दिन तयारी थालेको हो ।

हिमालयको संचित नोक्सान बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जति विमान सञ्चालन गर्यो त्यत्ति नै नोक्सान हुने भएपछि विकल्पका रुपमा हिमालयले विमान भाडामा दिन लागेको हो । २ ओटा विमान भाडामा दिने हिमालयको प्रस्तावलाई क्यानले अस्वीकार गरेपछि एउटा मात्र दिन लागेको हो ।

वायुसेवा कम्पनीसंग न्युनतम २ ओटा विमान हुनुपर्ने व्यवस्था छ । सलामले विमान लैजान नमान्नुको कारण भने हिमालयले खुलाएको छैन् । हिमालय श्रोतका अनुसार बेम्बोलाई ६/६ महिनाको लागि भाडामा दिने लागेको हो । हिमालयसँग रहेको जहाज करिब १ महिना भित्रै भियतनाममा गइसक्ने जनाएको छ ।

बेम्बो एयरवेजले भियतनामका विभिन्न शहरहरूलगायत जापानको मिटो शहर, दक्षिण कोरियाको सियोल शहर, ताइवानको ताइपान र ताइनान शहरमा उडान भर्दै आएको छ ।

हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विलम्ब शुल्क सहित २० करोड रुपैयाँ भन्दाबढी रकम तिर्न बाँकी छ । विमानस्थलले पटक पटक ताकेता गरिरहे पनि हालसम्म रकम तिर्न नसकेको जनाएको छ ।

हाल हिमालयले भियतनामलाई १ ओटा जहाज भाडामा दिएपछि त्यसबापत आउने भाडाबाट मासिक ७५ लाख रुपैयाँ दिँदै जाने आश्वासन दिँदै आएको उल्लेख छ । तर विमानस्थलले भने मासिक २ करोडको दरले दिनका लागि हिमालयलाई ताकेता गरिरहेको जनाएको छ ।

चार ओटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको हिमालयसंग १५८ सिट क्षमताका एयरबस ए–३२० सिरिजका तीन ओटा विमान छन । ती प्रत्येक विमानमा ८ बिजनेस र १५० इकोनोमी क्लास सिट छन ।

हिमालयन एयरलाइन्स हाल सञ्चालन नोक्सानमा रहेको छ । हिमालयमा यति वल्र्ड इन्भेष्टमेन्टको ५१ र तिब्बत एयरलायन्सको ४९ प्रतिशत स्वामित्व रहेको छ ।