एसएमपी आयात प्रतिबन्धको अनुचित लाभ लिँदै डेरी उद्योगी, मिलेमतोमा पाउडर दूधको मूल्य २५ प्रतिशत बढाइयो

दुग्ध विकास संस्थान र अन्य पाउडर दूध उद्योगीको मिलेमतोमा मूल्य बढाइएको हो । अहिले पाउडर दूध आयात भएको छैन । मागअनुसार उत्पादन कम भएको फाइदा उठाउँदै पाउडर उद्योगीले अस्वाभाविक मूल्य तय गरेका हुन् । यता, किसानले दूधको उचित मूल्य पाइरहेका छैनन् भने सरकारी अनुदान पाउनु त परको कुरा ।

काठमाडौं । धूलो दूध (एसएमपी) आयात प्रतिबन्धपछि त्यसको प्रत्यक्ष असर बिक्री मूल्यमा परेको छ । एसएमपी आयात प्रतिबन्ध भएपछि धूलो दूधको मूल्य प्रतिकिलो २५ प्रतिशतसम्म बढेको छ । जसको प्रत्यक्ष मार आम उपभोक्तालाई परेको छ ।

आयात हुँदा प्रतिकिलो ३९० देखि ४०० रुपैयाँमा बिक्री हुने पाउडर दूध प्रतिबन्धपछि प्रतिकेजी ५०० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । दुग्ध विकास संस्थान र अन्य पाउडर दूध उद्योगीको मिलेमतोमा मूल्य बढाइएको हो । अहिले पाउडर दूध आयात भएको छैन । मागअनुसार उत्पादन कम भएको फाइदा उठाउँदै पाउडर उद्योगीले अस्वाभाविक मूल्य तय गरेका हुन् । यता, किसानले दूधको उचित मूल्य पाइरहेका छैनन् भने सरकारी अनुदान पाउनु त परको कुरा ।

धूलो दूधको आयात रोक्न सफल भएका उद्योगीले मूल्यमा समेत ‘एकाधिकार’ जमाएका हुन् । किराना तथा खुद्रा व्यापार सङ्घका एक अधिकारीका अनुसार, विदेशबाट लुकिछिपी सस्तोमा धूलो दूध ल्याई स्वदेशी डेरी उद्योगले प्रशोधन तथा बिक्री गर्दै आएको बताए ।

डेरी उद्योगमा एसएमपीको मूल्यमा एकरुपता ल्याउन त्यसको प्रभावकारी अनुगमनसमेत हुन सकेको छैन । पाउडर उद्योगीले मूल्यमा ‘एकाधिकार’ जमाउँदासमेत सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालेका कृषिमन्त्री चक्रपाणि खनालको ‘मौन स्वीकृति’ रहेको प्रष्ट देखिन्छ । अर्थात, कृषिमन्त्रीको एसएमपी आयात प्रतिबन्धले डेरी उद्योगीलाई मूल्यमा ‘एकाधिकार’ कायम गर्न प्रोत्साहन मिलेको छ ।

धूलो दूध आयात प्रतिबन्धले ‘मिल्क होलिडे’ कम भए पनि स्वदेशी मागअनुसार धूलो दूध उत्पादन र आपूर्ति भने हुन सकेको छैन । अहिले दुग्ध विकास संस्थान र निजी पाउडर प्लान्टले २ हजार टन धूलो दूध उत्पादन गर्छन् । तर, माग ३ हजार टन हाराहारी छ ।

एसएमपी आयात प्रतिबन्धपछि मूल्य बढाउने कि नबढाउने भन्ने पाउडर उद्योग, डेरी उद्योग र सरकारबीच विभिन्न समयमा छलफल भएको थियो । आयात प्रतिबन्ध गरिएका बेला एसएमपीको मूल्य बढाउनु हुँदैन भनिए पनि पाउडर उद्योगीको दबाबपछि मूल्य बढेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीले एसएमपी आयात प्रतिबन्ध लामो समयसम्म भएकाले पाउडर दूध निश्चित परिमाणमा आयात खुला गर्नुपर्ने सङ्केत गरे । ‘अहिले स्वदेशी पाउडर दूधले यहाँको माग पूर्ति हुन सकेको छैन,’ उनले भने, ‘आयात रोकिएको पनि लामो समय भयो, मागअनुसार अपुग पाउडर निश्चित परिमाणमा आयात खुला गर्नुपर्छ ।’

‘मन्त्रीज्यूकै मौखिक निर्देशनमा एसएमपी आयात प्रतिबन्ध भयो । त्यसपछि एसएमपीको मूल्य बढाउनु हुन्नथ्यो,’ ती अधिकारीले भने, ‘आम उपभोक्तालाई मार पर्छ । मूल्य बढाउनु हुन्न भनेपछि उद्योगीको दबाबमा एसएमपीको मूल्य बढ्यो ।’

यसअघि दुग्ध विकास संस्थान (डीडीसी) र अन्य डेरी उद्योगीबीचको सहमतिमै एसएमपीको मूल्य बढाइएको चितवन मिल्कका सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । ‘हामी उद्योगीले पाउडर दूधको मूल्य बढाएका होइनौं,’ उनले भने, ‘यो त डीडीसीसहित अन्य डेरी उद्योगको सहमतिमा बढाइएको हो ।’

अहिले चितवन मिल्कले डेरी उद्योगबाहेक अरुलाई धूलो दूध बिक्री गर्दैन । सुजलले आफ्नो उत्पादन अन्य डेरी उद्योगलाई समेत बिक्री गर्दै आएको छ । तर, उसले उत्पादन गरेको पाउडर दूधले ५० प्रतिशत माग पनि धान्न नसक्ने उद्योगी बताउँछन् ।

‘अपुग पाउडर दूधको आयात कोटा सिस्टमबाट गरौं’— अरनिको राजभण्डारी, अध्यक्ष, डेरी उद्योग सङ्घ

अहिले डीडीसी र निजी क्षेत्रका गरी तीन ओटा पाउडर प्लान्टले धूलो दूध उत्पादन गर्दै आएका छन् । ती पाउडर प्लान्टले उत्पादन गरेको पाउडर दुधले ६० प्रतिशत मात्रै माग धान्न सक्छ । अर्थात् ४० प्रतिशत अझै आयात गर्नुपर्छ ।

अपुग रहेको ४० प्रतिशत अर्थात् १ हजार ५०० टन पाउडर दूध निश्चित डेरी उद्योग र पाउडर प्लान्टको उत्पादन क्षमता र कारोबारका आधारमा आयात गर्न निश्चित कोटा सिस्टम बनाएर आयात गर्नुपर्ने डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘यस्तो अवस्थामा सरकारले आयातमा पूर्ण खुला पनि गर्नुहुँदैन ।

यसले व्यापारीले अर्को वर्षलाई पाउडर स्टक राख्न सक्छन्,’ उनले भने, ‘उद्योगका लागि कति पाउडर आवश्यक हो र, उत्पादन कति गरेको छ ? त्यसको सही मूल्याङ्कन गर्नुपर्छ । उसको अडिट रिपोर्ट, कारोबार स्थिति के छ, त्यसका आधारमा सरकारले निश्चित डेरी उद्योगलाई निश्चित परिमाणका आधारमा आयातको अनुमति दिनुपर्छ ।’

यो पनि पढ्नुहोस् ।

धूलो दूध आयातमा प्रतिबन्ध छैन भनेर किन झुटो बोले कृषिमन्त्री खनालले ?,

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’

धूलो दूध : माग ३ हजार, उत्पादन २ हजार टन, आयात प्रतिबन्धको फाइदा कसले लिँदैछ ?