बिचौलिया हटाउन सरकार निरीह, किसान मर्कामा, उपभोक्ता ठगिँदै

एक महिना पहिले अर्थात चैत २२ गते प्रतिकेजी १२५ मा बिक्रि भइरहेको च्याउको मूल्य अहिले थोक मूल्य नै २३५ रुपैयाँ पुगेको छ । त्यस्तै, पहिले ३८ रुपैयाँ रहेको गोलभेडा(सानो) को मूल्य अहिले ६८ रुपैयाँ प्रतिकेजी छ । प्रतिकेजी ४८ रुपैयाँमा बिक्रि भइरहेको ठूलो गोलभेडाको मूल्य अहिले बढेर ६८ रुपैयाँ पुगेको छ ।

काठमाडौं । बौद्ध आरुबारी बस्ने शर्मिला घिसिङले शुक्रबार एक पाउ टमाटरको २० रुपैयाँ तिरेर किनिन् । शनिबार तरकारी पसलमा गएर पुनः टमाटर किन्दा उनले एक पाउको २५ रुपैयाँ तिर्नुपर्यो । एक दिनमा टमाटरको मुल्य ५ रुपैयाँ बढेपछि उनले व्यापारीसँग गुनासो गरिन, ‘हैन, हिजो २० रुपैयाँ थियो ।

कसरी आज २५ रुपैयाँ पुग्यो साहुजी ?’ तर, व्यापारीले उतैबाट महङ्गो ल्याउनुपरेकाले मुल्य बढेको जवाफ दिएको घिसिङले गुनासो गरिन् ।त्यस्तै, बानेश्वरमा बस्ने अनिता श्रेष्ठले अघिल्लो दिन एक पाउको २० रुपैयाँमा किनेको भेन्डी भोलिपल्ट किन्दा २५ रुपैयाँ तिरेर किन्नुपर्यो । यी त उदाहरण मात्रै हुन् ।

दैनिक भान्छाका लागि चाहिने तरकारीको मूल्य दिनदिनै आकासिँदा शर्मिला र अनिताजस्ता कैयौँ उपभोक्ताहरु दैनिक ठगिइरहेका छन् ।कालीमाटी तरकारी तथा फलफूल बजारमै, पछिल्लो एक महिनाको अवधिमा अधिकांश तरकारीको थोक मूल्य २० देखि ४० रुपैयाँले बढेको छ । यो अवधिमा च्याउको मूल्य सवैभन्दा बढी आकासिएको छ ।

एक महिना पहिले अर्थात चैत २२ गते प्रतिकेजी १२५ मा बिक्रि भइरहेको च्याउको मूल्य अहिले थोक मूल्य नै २३५ रुपैयाँ पुगेको छ । त्यस्तै, पहिले ३८ रुपैयाँ रहेको गोलभेडा(सानो) को मूल्य अहिले ६८ रुपैयाँ प्रतिकेजी छ । प्रतिकेजी ४८ रुपैयाँमा बिक्रि भइरहेको ठूलो गोलभेडाको मूल्य अहिले बढेर ६८ रुपैयाँ पुगेको छ ।

लोकल काउली, रायो साग, ब्रो–काउली र मोटरकोशाको मूल्य पनि एक महिनाको अवधिमा अचाक्ली बढेको छ । एक महिना पहिले २८ रुपैयाँ प्रतिकेजी पर्ने काउली(स्थानीय)को मूल्य अहिले ५८ रुपैयाँ पुगेको छ । २८ रुपैयाँ प्रतिकेजी पर्ने रायो सागको मुल्य ६५, ४८ रुपैयाँको ब्रो–काउली अहिले ७८ र ४८ रुपैयाँमै विक्रि भएको मोटरकोशाको मुल्य बढेर ७८ रुपैयाँ पुगेको छ ।

अन्य तरकारीहरुको मूल्यमा पनि बृद्धि भएको छ । अहिले तरकारीजन्य वस्तुको मूल्य आकासिँदा आम उपभोक्ताको भान्सा महँगीएको छ । उता तरकारी उत्पादन गर्ने किसानले उचित मूल्य पाएका छैनन् भने यता आम उपभोक्ता गगिइरहेका छन् । विभिन्न तहगत तरकारी विचौलियाले तरकारीको मूल्य मनलाग्दी बढाइरहेका छन् ।

दूध, चिनि र तेलजन्य बस्तुको मूल्य थोरै मात्रै बढे विरोध गर्ने उपभोक्ता र अधिकारकर्मी तरकारीको मूल्य जतिसुकै बढ्दा पनि मुकदर्शक छन् । दैनिक रुपमा ठगिँदा पनि विरोध गरेको सुनिँदैन र देखिँदैन पनि । तरकारीको मूल्य जति बढेपनि न त कतै अनुगमन भएको छ । न त विरोध नै ।

व्यापारीले किसानबाट कम मूल्यमा ल्याएर दोब्बर नाफा खाएर बेच्दासमेत सरकारले अनुगमन गरेको छैन । लाग्छ, विचौलिया हटाउनै नसक्ने गरी सरकार निरीह बन्यो । अनुगमन भइहाले पनि अनुमगमनका नाममा हुने अनुगमनले तरकारी विचौलियालाई अझै बल मिलेको छ ।
यसअघि, कालीमाटी तरकारी बजारका विचौलिया हटाउन कृषिमन्त्री चक्रपाणी खनालले कदम चालेपनि अदालती निर्णय विचौलियाकै पक्षमा आयो । जस्काकारण, खारेजीमा परेका कालीमाटीको स्टलमा विचौलियाले निर्वाध कारोबार गरिरहेका छन् ।

यसअघि तरकारी विचौलिया हटाउने र उचित मूल्य निर्धारण गर्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएपनि त्यस्को कार्यान्वयन नहुँदा अहिले तरकारीमा विचौलियाले फाइदा उठाइरहेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताउँछन् । सरकार विचौलियासँग मिलेकाले आम उपभोक्ता ठगिनुपरेको उनको भनाइ छ ।

यता, बजार अनुगमन गर्ने जिम्मा पाएका निकाय अहिले बेखबर छन् । कसैले बढ्यो भनेर गुनासो गर्यो भन्ने हामी अनुगमन गरिहाल्छौं भन्ने ओठे जवाफ बाहेक केही दिन सक्दैनन् । तरकारीको मूल्य अचाक्ली बढेपछि त्यसको अनुगमन किन गर्नुहुन्न भन्ने प्रश्नमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘तरकारीमा सिन्डिकेट र माग र आपूर्तिको भिन्नताका कारण पनि व्यापारीले मूल्य बढाइरहेका छन् । हामीले अनुगमन गरिरहेका छौँ ।’

विगतमा पटक पटक तरकारी बजारको अनुगमन गरेपनि सुधार नभएको उनले स्वीकार गरे । ‘कालीमाटी तरकारी बजारमा पटक पटक अनुगमन गरिरहेका छौँ । मन्त्रीलगायत विभिन्न निकायले अनुगमन गरेपनि त्यत्ति सुधार भएन ।