दर्ता नभएको म्यानपावरको कतार पठाउने सेटिङ, कामदारबाट डेढ लाख लिएर ३ युवालाई बनायो अलपत्र

वैदेशिक रोजगार विभागमा दर्ता नै नभएको ढुवानी म्यानपावर कम्पनीले तीन युवालाई वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै प्रतिव्यक्ति १ लाख ५० हजार उठाएर अलपत्र पारेको हो ।

काठमाडौं । दर्ता नै नभएको म्यानपावर कम्पनीले नेपाली कामदारलाई कतार पठाउने भन्दै पैैसा उठाएर तीन युवालाई अलपत्र पारेको छ ।

वैदेशिक रोजगार विभागमा दर्ता नै नभएको ढुवानी म्यानपावर कम्पनीले तीन युवालाई वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै प्रतिव्यक्ति १ लाख ५० हजार उठाएर अलपत्र पारेको हो ।

कतार जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र गएर एयरलाइन्सको काउन्टरमा चेक गर्दा म्यानपावर कम्पनीले टिकटको पैसा नै नतिरेको पाइएपछि आफू ठगिएको कामदारले बताएका छन् ।

मङ्गलबार साँझ ८ः३० बजेको नेपाल एयरलाइन्सको वाइडबडी जहाजको टिकट काटेको ढुवानी म्यानपावरले टिकटको पैसा नै नतिरेको पाइएपछि ललितपुर र काभ्रेका तीन जना युवा अलपत्र परेका हुन् । अलपत्र पर्नेमा ललितपुर स्थायी घर भएका प्रकाश ङेसुर, भीम लामा र काभ्रे घर भएका अनिल लामा छन् ।

नक्कली म्यानपावर कम्पनी ढुवानीले तीनै जनालाई ड्राइभिङ कामका लागि भन्दै भिसा लगाएको थियो । तर उनीहरुसँग ड्राइभरको सीप पनि छैन । उनीहरुसँगै ललितपुरकै बसन्तकुमार नगरकोटीलाई सेटिङमा मङ्गलबार नै कतार पठाएका छन् । तर, उनलाई पनि बुधबार बिहानसम्म त्यहाँको कामदार कम्पनीले लिन नआएको नगरकोटीले कतारबाट क्यापिटल नेपाललाई जानकारी दिए ।

ढुवानी म्यानपावरले नगरकोटीलाई एसिया लिङ्क सर्भिस प्रालि म्यानपावरसँगको सेटिङमा कतार उठाएको हो । अहिले बाँकी तीन युवालाई पनि एसिया लिङ्क, अल रहिम म्यानपावरबाट कतार उठाउने तयारी ढुवानी म्यानपावरले गरेको छ । अलपत्र परेका तीन जनालाई म्यानपावर कम्पनीले पटक पटक कतार पठाउने भन्दै बोेलाएर फिर्ता पठाउने गरिरहेको छ । कामदारले ढुवानी म्यानपावरका राकेश कार्कीलाई पैसा बुझाएको बताएका छन् ।

कतारको एरोबिक क्लिनिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा काम लगाउने भन्दै दुई पक्षीय सम्झौतामा एसिया लिङ्क सर्भिसको तर्फबाट हस्ताक्षरसमेत गरिएको छ ।

उनीहरुलाई वैशाख २३ गते पनि दुई ओटा समयको टिकट दिइएको थियो । तर, त्यो बेला पनि टिकट नमिलेको भन्दै उनीहरुलाई म्यानपावर कम्पनीबाटै फिर्ता गरिएको थियो ।

यता गैरकानुनी म्यानपावर ढुवानी सञ्चालन गरेका राकेश कार्कीको केही सेयर एसिया लिङ्कमा रहेको भन्दै एसिया लिङ्कबाट सेटिङ गरेको कामदारले बताएका छन् ।

मङ्गलबारको टिकट ट्राभल एजेन्सीका कारण रद्द भएको बताउँदै (आज) बुधबार उनीहरुलाई कतार पठाउने तयारी भएको कार्कीले बताए । ‘केही समस्या भएकै हो, हामी मिलाएर कामदार पठाउँदै छौं,’ उनले भने ।

अलपत्र परेका युवाहरुले भने सम्भव भएसम्म राम्रो काम पाएमा कतार नै जाने र नभएमा आफूहरुको हालसम्मको खर्च फिर्ता दिनु पर्ने माग राखेका छन् ।

ललितपुरका भीम लोप्चनले म्यानपावर कम्पनीले ड्राभइरको सीप नभए पनि कतार पुगेपछि अर्को काम लगाइदिने आश्वासन दिएको बताए ।