बायोमेट्रिकमा पनि तोडिएन सिन्डिकेट, पुरानै स्वास्थ्यसंस्थाले सुरु गर्न थाले बायोमेट्रिक

सरकारले खारेजीको घोषणा गरेको भीएलएन र जीएसजीले मलेसिया जाने कामदारका लागि पुरानै संयन्त्रमा काम गर्ने जनाएका छन् । अहिले जीएसजीले पनि आफ्नो प्रारम्भिक काम थालिसकेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौन स्विकृतीसमेत दिएको एक म्यानपावर व्यवसायीले क्यापिटल नेपाललाई बताए ।

काठमाडौं । मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेको भन्दै सरकारले एक वर्षअघि मलेसिया जाने कामदारको प्रक्रिया गर्ने पाँच संस्थालाई रोक लगाएर कारवाही गरेपनि पुनःसोही संस्थाबाट कामदार मलेसिया पठाउने प्रक्रिया सुरु भएको छ ।

सरकारले कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी र माइग्राम्सलाई खारेजी गर्दै ती संस्थाका सञ्चालकलाईसमेत कारवाहीको दायरामा ल्याएको थियो । तर, सरकारले खारेजीको घोषणा गरेको भीएलएन र जीएसजीले मलेसिया जाने कामदारका लागि पूरानै संयन्त्रमा काम गर्ने जनाएका छन् ।

अहिले जीएसजीले पनि आफ्नो प्रारम्भिक काम थालिसकेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौन स्विकृतीसमेत दिएको एक म्यानपावर व्यवसायीले क्यापिटल नेपाललाई बताए ।

गतवर्ष जेठ ३ गते मलेसियाको रोजगारी बन्द गरेको सरकारले गत चैत १७ गते कलिङ भिसा लागेका ७ हजार कामदारलाई रोजगारीका लागि मलेसिया जाने बाटो खोलेको थियो । कलिङ भिसा पाएका कामदारले भीएलएनमार्फत नै भिसा लगाएर मलेसिया उडेका थिए ।

सरकारले एक वर्षसम्म मलेसिया जाने प्रक्रिया बन्द गरेपनि त्यसको एक वर्षमा कुनै उपलब्धी देखिएन । मलेसिया जाने प्रक्रिया बन्द भएपछि नेपाल र मलेसिया सरकारले गत कार्तिक ११ गते कामदार नयाँ तरिका र प्रक्रियामार्फत पठाउने समझदारीपत्रमा हस्ताक्षर गरेपनि पूरानै संयन्त्र र प्रक्रियामार्फत नै कामदार पठाउने तयारीमा पाँच संस्था र म्यानपावर कम्पनी रहेका छन् ।

सरकारले कामदारको स्वास्थ्य जाँच गर्ने बायोमेट्रिकको सिन्डिकेट पनि हटेको घोषणा गरेको थियो । ३७ ओटा बायोमेट्रिक गर्ने स्वास्थ्य संस्थालाई सरकारले कारवाही गरेर मलेसिया सरकारसँगको समझदारीमा नयाँ स्वास्थ्य संस्था थपिने भन्दै सूचिकृतका लागि आह्वान गरेको थियो तर, अहिले पूरानै ३७ ओटा स्वास्थ्य संस्थाले नै बायोमेट्रिकको काम सुरु गर्न थालेका छन् ।

नेपालस्थित मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी महासंघलाई पत्र लेखेर ३७ ओटा स्वास्थ्य संस्था नै बायोमेट्रिकका लागि उपयुक्त रहेको पत्र पठाएको छ ।

स्वास्थ्य व्यवसायी महासंघका एक सदस्यले पूरानै स्वास्थ्य संस्थाहरुमार्फत कामदारको स्वास्थ्य परीक्षण गराउने तयारी भएको बताए । उनले त्यहि अनुरुप म्यानपावर कम्पनीहरुलाई पनि सर्कुलर जारी गरिसकेको जानकारी दिए ।