गौतमबुद्ध विमानस्थल ढिला गराउन क्यान नै अग्रसर, पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप

विमानस्थलका लागि यस वर्ष विनियोजन गरिएको रकम ५९ करोड रुपैयाँ १९ औं बिलमै सकिएको थियो । तर, क्यानले त्यसको लेखाजोखा नै नगरी २० औं बिल मन्त्रालयमा पठाएको थियो ।

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ढिला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नै अग्रसर भएको पाइएको छ ।

विषेश गरी आयोजनालाई छुट्याइएको रकम भुक्तानी भइसकेपछि थप रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्न ढिला गरेर क्यानले आयोजनालाई नै विवादमा तानेको मात्रै छैन, आयोजना ढिला गराउन भूमिका निर्वाह गरेको छ ।

विमानस्थलका लागि यस वर्ष विनियोजन गरिएको रकम ५९ करोड रुपैयाँ १९ औं बिलमै सकिएको थियो । तर, क्यानले त्यसको लेखाजोखा नै नगरी २० औं बिल मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयका सहसचिव नीता पोखरेल अर्यालले विनियोजित रकम पहिला नै सकिएको र बाँकी रकम भुक्तानीका लागि अर्थ मन्त्रालयबाट स्रोतान्तर गर्न ढिलाइ हुँदा समस्या भएको बताइन् । उनले आयोजनाका लागि छुट्ट्याइएको रकम सकिएसँगै त्यसको जानकारीसहितको थप रकम मागेको आवश्यक कागजात पटक पटक क्यानसँग माग्दा पनि नदिएपछि लामो समय आयोजना रकम अभावको अवस्थाबाट गुज्रिनु परेको बताइन् । तर, मन्त्रालयले क्यान महानिर्देशक सञ्जीव गौतमलाई नै फोन गरेपछि गत शुक्रबार मात्र सबै कागजात आएको जानकारी दिइन् ।

पर्यटन मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइतबार पत्र पठाएपछि सोही दिन अर्थले ७० करोड स्रोतान्तर गराएको थियो । अर्थले एसियाली विकास बैङ्क (एडीबी)को ‘ओफिट’मा रहेको रकममध्ये ७० करोड रुपैयाँ स्रोतान्तर गरी खर्च गर्न स्वीकृति दिएको थियो । अर्थले स्रोतान्तर गरी खर्च गर्नसक्ने अधिकार दिएलगत्तै सोमबार पर्यटन मन्त्रालयले एडीबीलाई पत्राचार गरेको उनले बताइन् ।

मन्त्रालयका एक उच्च अधिकारीले आयोजनाको काम ढिला हुने देखिएपछि क्यानले ‘सेफ ल्यान्डिङ’का लागि निर्माण कम्पनीलाई उचालेर काम रोकेको आरोप लगाएका छन् । ती अधिकारीका अनुसार ६ अर्बको निर्माणको जिम्मा लिएको कम्पनीलाई १० करोड रुपैयाँ विनियोजन नहुँदा नै काम रोकिने अवस्था हुँदैन । ‘घटना हेर्दा क्यानकै मिलेमतोमा काम रोकिएको देखिन्छ,’ उनले भने ।

तर, क्यानले भने बुधबार पर्यटन मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गरेको आरोप लगाउँदै निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनलाई १० करोड रुपैयाँ दिएको दाबी गरेको छ ।

क्यानअन्तर्गत राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदीप अधिकारीले आइतबारबाट निर्माण कम्पनीले काम रोकेपछि थप समस्या नहोस् भन्ने उद्देश्यले रकम दिएको जानकारी दिए ।

उनले द्रुत गतिमा अगाडि बढिरहेको आयोजनालाई मन्त्रालयले पटक पटक रकम भुक्तानी गर्न ढिलाइ गरेर समस्या उत्पन्न गराइरहेको आरोप लगाए । निर्माण कम्पनी नर्थवेस्टलाई दिएको रकम उसको अर्को बिलमार्फत फिर्ता गराउने बताउँदै पर्यटन मन्त्रालय आयोजनाप्रति गम्भीर नभएको उनको भनाइ छ ।

दोस्रो पटक थपेको म्यादअनुसार काम सक्ने अवस्था नदेखेपछि पर्यटन मन्त्रालय र क्यानबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

तीन वर्षमा सक्नेगरी सन् २०१४ नोभेम्बरमा ७ करोड ८३ लाख डलरको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थवेस्टसँग नेपाली सहायक ठेकेदार कम्पनीको विवादले काम ढिला गरी सुरु भएको थियो । पछिल्लो सम्झौताअनुसार २०१९ जुन २८ मा काम सक्नुपर्छ । तर सम्झौताअनुसार काम नसकिने निश्चित भएपछि क्यान र मन्त्रालयबीच आरोप प्रत्यारोप सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हेर्ने तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारीले निर्धारित समयमै काम सक्ने गरी योजना अघि बढाए पनि उनको निधनपछि विमानस्थलको निर्माण कार्यमा अनेकन बहाना बनाएर ढिलाइ गरिँदै आएको छ ।

कुल ६ अर्ब ८० करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान छ । त्यस्तै साउदी अरबको साउदी फन्ड (ओएफआईडी) को ३०.५ प्रतिशत ऋण र नेपाल सरकारको ११ प्रतिशत लागत साझेदारी छ ।

तलका समाचार पनि हेर्नुहाेस्

पर्यटन मन्त्रालयको ढिलाइपछि गौतमबुद्ध विमानस्थल निर्माणको लागि क्यानले दियो १० करोड

गौतमबुद्ध विमानस्थलमा पर्यटन मन्त्रालयको लापरवाही, अर्थले ७० करोड दिएपछि काम सुचारु

गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

गौतमबुद्ध विमानस्थल निर्माणमा सरकारी निकायकै अवरोध

पैसा नपाएपछि गौतमबुद्ध विमानस्थलको ठेकेदार नर्थवेस्टले रोक्यो काम