नेपाली चेन ब्रान्ड ‘दी पिक हस्पिटालिटी’ले भारतमा होटल व्यवस्थापन गर्दै, २ महिनाभित्र जिम्मेवारी सम्हाल्ने

विदेशी कम्पनीहरुले नेपालमा आएर होटल व्यवस्थापनको जिम्मेवारी लिइरहेको बेला नेपालीले भारतको बनारसमा रहेको एक होटलको व्यवस्थापनको जिम्मेवारी लिन लागेका हुन् ।

काठमाडौं । नेपाली युवाहरुको एक समूहले स्थापना गरेको ‘दी पिक हस्पिटालिटी’ले नेपालबाहिर पहिलो पटक होटलको व्यवस्थापनको जिम्मेवारी लिने भएको छ । विदेशी कम्पनीहरुले नेपालमा आएर होटल व्यवस्थापनको जिम्मेवारी लिइरहेको बेला नेपालीले भारतको बनारसमा रहेको एक होटलको व्यवस्थापनको जिम्मेवारी लिन लागेका हुन् ।

‘दी पिक हस्पिटालिटी’का सञ्चालक यादव पाण्डेले २ महिनाभित्रमा भारतको बनारसस्थित एक होटल व्यवस्थापन सुरु गर्ने जानकारी दिए । उनले हाल बनारसमा तीनतारेदेखि पाँचतारे होटलसम्म हेरिरहेको बताउँदै २ महिनाभित्रमा एक होटलको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘बनारसमा होटलको व्यवस्थापन लिने विषयमा हामी अन्तिम छलफलमा छौं,’ उनले भने ।

पछिल्लो समय बनारसमा धेरै नेपालीहरु धार्मिक पर्यटकका रुपमा जाने गरेकाले उनीहरुलाई नै लक्ष्य गरीे सेवा सुरु गर्न लागेको सञ्चालक पाण्डेले जानकारी दिए । ‘हामीले अहिले व्यवस्थापनसँगै आफैँ पनि होटल सञ्चालनका लागि अध्ययन पनि गरिरहेका छौँ,’ उनले भने ।

‘दी पिक हस्पिटालिटी’ले हाल भैरहवामा चारतारे होटल बोधी रेडसन र काठमाडौंको तीनतारे एयरपोर्ट होटलको जिम्मेवारी लिएको छ । होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी होटल क्षेत्रमै लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले ‘दी पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका हुन् ।

हाल भैरहवाको बोधी रेडसनसँगै ४ बिगाहा जमिनमा करिब ३१ करोड रुपैयाँ लगानी गरेर फन पार्क र वाटरपार्क निर्माण गरिरहेका छन् । आगामी असारको मध्येदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक पाण्डेले जानकारी दिए ।

फनपार्कभित्र ३१ किसिमका क्रियाकलाप छन् । पनपार्कमा स्क्लाइडिङ, जम्पिङ, वाटरजम्पिङ, स्केटिङ, बोटिङ, फुटकोटहरुलगायत राखिएको छ । सो फनपार्क र वाटरपार्क भैरहवाकै पहिलो हुने र भारतको गोरखपुरका स्थानीयहरुलाई समेत लक्षित गरिएको छ ।

पार्कभित्र सातओटै प्रदेशलाई चिनिने ठाउँको सिम्बोलिक प्रतीक बनाउन लागिएको छ, जहाँबाट सातओटै प्रदेशको विषेशता थाहा पाउन सकिने उनले बताए । लुम्बिनी आउने पर्यटकले त्यहाँबाहेक अन्य ठाउँको पनि जानकारी लिउन् भन्ने उद्देश्य आफूहरुको रहेको सञ्चालक पाण्डेको भनाइ छ ।

पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेसँगै पर्यटन व्यवसायीहरुले भैरहवालाई केन्द्रित गरेर लगानी बढाउन थालेका छन् ।

यो पनि पढ्नुहोस्

होटल व्यवस्थापनमा नेपाली ‘प्लेयर’को प्रवेश ‘दि पिक हस्पिटालिटी’ले लियो बोधी रेडसन र एयरपोर्ट होटलको जिम्मेवारी