नेपाल वायुसेवा निगमको जहाज चीन उड्ने, साउन पहिलो साता सम्झौता हुँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको जाहाज उडाउने विषयमा सम्झौता गर्नका लागि दुई पक्षीय वार्ताको तयारी भइरहेको पुष्टि गरेका छन् । उनले नेपालका तर्फबाट लामो समयदेखि निगमको जहाज चीन उडाउन चाहिरहेको भए पनि विभिन्न कारणले अवरोध हुँदै आएकोमा अहिले चीन सरकारले नै वार्ताका लागि आह्वान गरेको बताए ।

काठमाडौं । छिमेकी मुलुक चीनमा नेपाल वायुसेवा निगमको जहाज उड्ने निश्चित भएको छ । साउन ७ र ८ गते चीनको बेइजिङमा हुने सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना र नेपालका प्रतिनिधिबीच हुने वार्ताले उडान तालिक र सहरको टुङ्गो लगाउने छ । निगमले चीनको गोन्जाओमा उडान गर्ने प्रस्ताव राखेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको जाहाज उडाउने विषयमा सम्झौता गर्नका लागि दुई पक्षीय वार्ताको तयारी भइरहेको पुष्टि गरेका छन् । उनले नेपालका तर्फबाट लामो समयदेखि निगमको जहाज चीन उडाउन चाहिरहेको भए पनि विभिन्न कारणले अवरोध हुँदै आएकोमा अहिले चीन सरकारले नै वार्ताका लागि आह्वान गरेको बताए । दुई पक्षीय वार्तापछि चीनको कुन विमानस्थलमा कति ओटा उडान गर्ने भन्ने निश्चित हुने उनको भनाइ छ ।

दुई पक्षीय वार्ताका लागि मन्त्रिपरिषदले निर्णय गर्नेछ । मन्त्रिपरिषदको निर्णयपछि मात्र वार्तामा को को सहभागी हुने भन्ने टुङ्गो लाग्ने मन्त्रालयको भनाइ छ । चीनले वार्ताको मिति तय गरेसँगै पर्यटन मन्त्रालयले पनि एजेन्डा तयार पारिरहेको छ ।

औपचारिक वार्ताअगावै प्रस्तावित एजेन्डा, ट्राफिक राइट्सलगायत विषयमा ईमेलबाट छलफल गर्नेगरी मन्त्रालयले सिनियर एटीसी अफिसर प्रमोद नेपाल र एरोनटिकल इन्जिनियर तनुजा पोखरेललाई सम्पर्क अधिकृतका रुपमा तोकी आवश्यक काम सुरु गरिसकेका छन् ।

याे पनि पढ्नुहाेस्ः

गोन्जाओमा जहाज उडाउन चीनले एओसी नदिएपछि कूटनीतिक पहल थाल्दै एनएसी

निगमले यसअघि चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत कूटनीतिक पहल सुरु गरेको थियो । चीनले मागेको आवश्यक कागजपत्र पेस गर्दा पनि प्रतिक्रिया नआएपछि निगमले कुटनीतिक पहल गरेको थियो । अहिले वार्ताका लागि तयारी हुनुमा कुटनीतिक पहलको सफलता भएको मन्त्रालयको भनाइ छ ।

निगमले गत वर्ष ल्याएको दुई ओटा वाइडबडी जहाजले लामो दूरीमा उडान नगरेकै कारण आर्थिक नोक्सानी बेहोर्दै आएको छ । वाइडबडीले नयाँ गन्तव्यका रुपमा असार १९ गतेबाट जापान उडान गर्ने भएको छ ।

पछिल्लो समय भारतपछि चीनबाट धेरै पर्यटक नेपाल आउने गरेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले तयारी गरिरहेको बेला राष्ट्रिय ध्वजावाहक जहाज छिमेकी मुलुक चीनमा उडान गर्न पाएमा धेरै सहज हुने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

होटल एसोसिएन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले निगमको जहाज चीन उडान गर्न सके धेरै पर्यटक नेपाल ल्याउन सकिने बताउँछन् ।