लुक्लामा नयाँ हेलिप्याड निर्माण हुँदै, भाडामा पार्किङ र ल्यान्डिङ गर्दै हेलिकप्टर

समिट एयरको जहाजले पार्किङ गरिराखेका दुई ओटा हेलिकप्टरमा ठक्कर दिएर दुर्घटना भएपछि हालको हेलिप्याड पूर्ण रुपमा बन्द छ । हेलिप्याड निर्माणको जिम्मा कान्छाराम कन्स्ट्रक्सनले लिएको छ । कम्पनीले १८ महिनाभित्रमा निर्माण सक्ने गर्ने गरी ठेक्का पाएको हो ।

लुक्ला (सोलुखुम्बु) । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुको लुक्लामा नयाँ हेलिप्याड निर्माण भइरहेको छ ।

हाल सञ्चालनमा रहेको हेलिप्याड सानो भएको र हेलिकप्टरको सङ्ख्या बढिरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ हेलिप्याड निर्माण गरिरहेको हो । ३२ करोड लागतमा पौने १२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको हेलिप्याडमा साना हेलिकप्टरहरु ६ देखि ८ ओटा र ठूला हेलिकप्टर तीन ओटा राख्न सकिनेछ ।

हेलिप्याडको निर्माण जेठबाट सुरु गरिएको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालय लुक्लाका आयोजना प्रमुख सत्या ढुवाढीले जानकारी दिए । गत मङ्सिरमा निर्माण कम्पनीले ठेक्का लिएको भए पनि आवश्यक सामग्री पुर्याउन ढिलाइ भएका कारण जेठबाट काम सुरु गरेको उनको भनाइ छ ।

हेलिप्याड निर्माणको जिम्मा कान्छाराम कन्स्ट्रक्सनले लिएको छ । कम्पनीले १८ महिनाभित्रमा निर्माण सक्ने गर्ने गरी ठेक्का पाएको हो ।

हेलिप्याडसँगै हेली टर्मिनल पनि निर्माण हुनेछ । हाल सो क्षेत्रमा निर्माण कम्पनीले हेलिकप्टरमार्फत डोजर, एस्काभेटरलगायत सामग्री पु¥याएर काम सुरु गरेका छन् । तर आयोजना निर्माणका लागि आवश्यक ढुङ्गा पाउन समस्या रहेको कारण केही ढिला भएको जनाइएको छ ।

अधिकांश जग्गा व्यक्तिको र बाँकी राष्ट्रिय निकुञ्जको भएका कारण ढुङ्गा निकाल्न समस्या भएको र सडक नभएका कारण ढुङ्गा ढुवानीमा थप समस्या आएको निर्माण कम्पनीको भनाइ छ ।

भाडामा पार्किङ र ल्यान्डिङ गर्दै हेलिकप्टर

वैशाख १ गते समिट एयरको जहाजले पार्किङ गरिराखेका दुई ओटा हेलिकप्टरमा ठक्कर दिएर दुर्घटना भएपछि हालको हेलिप्याड पूर्ण रुपमा बन्द छ । त्यहाँ रहेको हेलिकप्टर र जहाज निकाल्न ढिलाइ भएका कारण हेलिकप्टर कम्पनीहरुले भाडामा लिएर पार्किङ र ल्यान्डिङ गर्दै आएका छन् । विमानस्थल नजिकै रहेको जग्गा भाडामा लिएर हेलिकप्टर ल्यान्डिङ र पार्किङ गरिरहेको लुक्ला विमानस्थल प्रमुख इमानाथ अधिकारीले जानकारी दिए ।

दुर्घटना भएको जहाज र हेलिकप्टरका सबै पार्टपुर्जा नलगेका कारण तत्कालै त्यहाँ हेलिकप्टर पार्किङ गर्न सकिँदैन । त्यसैले बाहिर नै राख्न कम्पनीहरुलाई सुझाव दिएको उनको भनाइ छ । श्री एयरलाइन्स र समिटले दुर्घटनाग्रस्त जहाज लगे पनि मनाङ एयरले भने बिमा कम्पनीका कारण हटाएको छैन । पुरानो हेलिप्याडमा चार ओटा हेलिकप्टर ल्यान्ड र पार्किङ गर्न सकिन्छ । रनवे र हेलिप्याड नजिकै रहेका कारण नयाँ हेलिप्याड बनेपछि पुरानो हेलिप्याडलाई बन्द गर्ने क्यानको तयारी छ ।

क्यानको हेलिप्याड बन्द भएपछि हेलिकप्टर कम्पनीहरुले जग्गा भाडामा लिएर तीन ठाउँबाट उडान गर्दै आएका छन् । सगरमाथाको आरोहण सुरु भएसँगै सो क्षेत्रमा हेलिकप्टर उडानको सङ्ख्या दैनिक रुपमा बढेको थियो । विमानस्थलका अनुसार यो सिजनमा सबैभन्दा बढी १ सय ७५ देखि १ सय उडानसम्म भएको थियो ।

क्यानको हाल रहेको हेलिप्याड बन्द भएपछि ल्यान्डिङ र पार्किङबापत आउने शुल्क उठेको छैन । एक हेलिकप्टरले दैनिक ल्यान्डिङबापत प्रतिव्यक्ति २ सय रुपैयाँ र पार्किङको छुट्टै चार्ज दिने गरेका थिए ।