प्राधिकरणमा भूकम्प पीडितका गुनासाका चाङमाथि चाङ

‘प्राधिकरणले १४ जिल्लामा ‘पुन मूल्याङ्कन’ गरेर लाभग्राही सूचीमा परेकालाई मात्र विभिन्न किस्ता वितरण गरेको छ’ उनले भने, ‘गुनासाहरु व्यवस्थापनका लागि प्राधिकरणले ठोस निर्णय लिन्छ।’ उनले हालसम्म ३ लाख ३२ हजार भन्दा बढि घर निर्माण हुँदै गरेको र १ लाख भन्दा बढि घर निर्माण भइसकेको बताए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा गुनासा दर्ता गर्ने भूकम्प पीडितहरुको सङ्ख्या बढ्दै जान थालेका छन् । भूकम्प गएको अढाइ बर्ष बढी समय वितिसक्दा पुननिर्माणको गति लिन नसकिरहेकै बेला उल्टै पीडितका गुनासाको चाङ लागेका छन् ।

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म दुई लाख भन्दा बढि गुनासाहरु दर्ता भएका छन् । त्यस्तै २ लाख ५ हजार ५ सय गुनासाहरु पुनरावलोकन गरिएको छ, भने सोही हाराहारीमा गुनासाहरु फ्छ्यौट गरिएको छ ।

पुननिर्माणमा ढिलाइ हुँदा गुनासो बढेको नभई लाभग्राही सूचीमा नपरेका कारण गुनासा आएको प्राधिकरणका प्रवक्ता यमलाल भूषालले क्यापिटल नेपाललाई बताए । ‘प्राधिकरणले १४ जिल्लामा ‘पुन मूल्याङ्कन’ गरेर लाभग्राही सूचीमा परेकालाई मात्र विभिन्न किस्ता वितरण गरेको छ’ उनले भने, ‘गुनासाहरु व्यवस्थापनका लागि प्राधिकरणले ठोस निर्णय लिन्छ।’ उनले हालसम्म ३ लाख ३२ हजार भन्दा बढि घर निर्माण हुँदै गरेको र १ लाख भन्दा बढि घर निर्माण भइसकेको बताए ।

हालसम्म ६ लाख ९१ हजार २ सय ५५ आवास निर्माणका लागि पहिलो किस्ता वितरण गरिएको छ । त्यस्तै २ लाख १९ हजार ७ सय ७१ ले दोस्रो किस्ता र ५१ हजार २ सय ७२ आवास निर्माणका लागि तेस्रो किस्ता वितरण भइसकेको प्राधिकरणले जनाएको छ ।

अहिले निजी आवास पुनर्निर्माणका लागि झन्डै ५६ हजार कामदार भूकम्प प्रभावित जिल्लामा खटिएका छन् । प्राधिकरणले पुननिर्माणलाई गति दिन ४१ हजार निर्माणकमी थपेको छ । प्राधिकरणले चैत मसान्तसम्मका लागि दोस्रो किस्ता लिने समयावधि तोकेको छ ।