बैङ्कमा ‘यासम्यान’को खोजी ‘सेकेन्ड म्यान’ को अभाव

पछिल्लो एक वर्षको अवधिलाई मात्र हेर्दा पनि बैङ्कहरुमा दोस्रो तहका विश्वासयोग्य कर्मचारी एकदमै न्यून रहेको पाइन्छ ।

  • २०७४ चैत १ मा माछापुच्छ्रे बैङ्कले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा डेपुटी महाप्रबन्धक सन्तोष कोइरालालाई नियुक्त गरेको छ । उसले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को खोजी सुरु गरेको छ । त्यहाँका सीईओ निरज श्रेष्ठले सञ्चालक समितिको बढी नाफा दिनुपर्ने दबाब थेग्न नसकेर डेढ वर्षकै अवधिमा राजीनामा दिएपछि नयाँ सीईओको खोजी सुरु भएको हो ।
  • २०७४ चैत २ गते एनआईसी एसियाको कायममुकायम सीईओमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । त्यहाँका सीईओ लक्ष्मण रिसालले ब्याजदरका विषयमा कुरा नमिलेपछि ३ महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि बैङ्क सीईओविहीन छ ।
  • सिटिजन्स बैङ्क इन्टरनेसनलका सीईओ राजनसिङ भण्डारीको कार्यकाल सकिँदैछ । तर, उनले आगामी सीईओ भनेर अघि सारेका गणेशराज पोखरेललाई वित्तीय क्षेत्रले अझै पत्याउन सकेको छैन र उनका बारेमा अनेकन टीकाटिप्पणी हुन थालेका छन् ।
  • २०७४ चैत २ गते सेन्चुरी कमर्सियल बैङ्कले तुलसी गौतमलाई सीईओ नियुक्त गरेको छ । आगामी जेठदेखि कार्यभार सम्हाल्नेगरी उनलाई सीईओ नियुक्त गरेको हो । साढे २ वर्षअघि माछापुच्छ्रे बैङ्कबाट बाहिरिएका उनी सेन्चुरीमा आइपुगेका हुन् । स्रोतहरुकाअनुसार उनलाई नबिल बैङ्कको डेपुटी सीईओ बनाएर लैजाने बारेमा पनि छलफल भएको थियो । तर, उनले अनिलकेशरी शाहको ‘अन्डर’मा काम नगर्ने बताएपछि सेन्चुरीतिर मोडिएका हुन् । उता २ वर्ष कार्यकाल बाँकी छँदै नबिलका सीईओ शसिन जोशीले छोडेपछि शाह त्यहाँ कार्यवाहक सीईओका रुपमा छिरेका छन् । नाम चलेका बैङ्कर शाह राष्ट्र बैङ्कको निर्देशनलाई छल्नेगरी त्यहाँ कार्यबाहक भएका हुन् । केन्द्रीय बैङ्कको नियमानुसार एउटा बैङ्क छाडेको सीईओ अर्को बैङ्क जाँदा कम्तीमा ६ महिना समय गुज्रिएको हुनुपर्छ ।

यी केही वित्तीय क्षेत्रका प्रतिनिधि घट्ना मात्रै हुन् । पछिल्लो एक वर्षको अवधिलाई मात्र हेर्दा पनि बैङ्कहरुमा दोस्रो तहका विश्वासयोग्य कर्मचारी एकदमै न्यून रहेको पाइन्छ । जसले गर्दा अन्य बैङ्कबाटै सीईओ लैजाने गरिएको छ । बैङ्कमै योग्य व्यक्ति नहुँदा एनआईसी एसिया, माछापुच्छ्रे र मेगा बैङ्कमा सीईओ नियुक्त हुन सकेका छैनन् । मेगा बैङ्कको सीईओ खाली भएको पनि ३ महिनाभन्दा बढी भइसकेको छ । त्यहाँ कायममुकायम सीईओका रुपमा अनुपमा खुन्जेली छिन् । उनलाई नै सीईओको जिम्मेवारी दिने कि नयाँ सीईओ खोज्ने सञ्चालक समिति अन्योलमा छ । सेन्चुरी बैङ्कमा सीईओको जिम्मेवारी पाउने भनेका अनुजमणि तिमिल्सिना पनि अन्ततः त्यहाँबाट बाहिरिए र कुमारी बैङ्कमा दोस्रो तहमै सीमित भए । कुमारीमा सिद्धार्थ बैङ्कका सीईओ सुरेन्द्र भण्डारी केही समयअघि मात्रै गएका थिए । बैङ्क अफ काठमाण्डूमा अजय श्रेष्ठपछि शोभनदेव पन्तलाई लगियो । प्राइम कमर्सियल बैङ्कमा नारायणदास मानन्धर सिनियर सिटीजनकै रुपमा पद ओगटेर बसेका छन् । यद्यपि प्राइमका महाप्रबन्धक रहेका सञ्जीव मानन्धरलाई अहिले बैङ्कहरुमा भएका दोस्रो तहका कर्मचारीमध्ये क्षमतावान भनेर लिने गरिन्छ ।

पछिल्ला केही समयलाई हेर्दा लक्ष्मी बैङ्कमा सुमन जोशीले छाड्दा सुदेश खालिङ, एनएमबी बैङ्कमा उपेन्द्र पौडेलले छाड्दा सुनिल केसी र ग्लोबल बैङ्कमा अनिल ज्ञवालीले छाड्दा जनक शर्मा पौड्लले मात्रै वरियतामा बैङ्क हाँक्ने अवसर पाएका छन् । सिभिलमा किशोर महर्जनपछि बाहिरबाट भनेजस्तो सीईओ नभेटिएको भन्दै गोविन्द गुरुङलाई जिम्मेवारी दिइएको चर्चा बजारमा ताजै छ । जनता बैङ्कमा कुमार लम्सालले छाड्दा सीईओको जिम्मेवारी दिने भनेर सेन्चुरीबाट लगिएका पृथ्वी श्रेष्ठ दोस्रो तहमै बसे र त्यहाँ बैङ्क छाडेर बसेका परशुराम कुँवर क्षेत्रीलाई सीईओको रुपमा लगियो । नबिलबाट डेपुटी सीईओका रुपमा आएका भुवन दाहाल दोस्रो कार्यकालका सीईओ छन् । तर, उनको कार्यकाल सकिँदा बैङ्ककै दोस्रो पुस्ताको व्यक्ति अझै तयार देखिँदैन । प्रभु बैङ्कमा पनि अशोक शेरचनपछि बैङ्कभित्रबाटै सीईओ बन्नका लागि कोही तयार भइसकेका छैनन् ।

अध्यक्ष र सीईओ मिलेमतोमा खाइरहेको हिमालयन बैङ्कमा सीईओ अशोक राणाले छाड्दा बैङ्क सम्हाल्ने व्यक्ति बैङ्कभित्र तयार छैन । त्यसैगरी निजी क्षेत्रको पुरानो बैङ्क नेपाल इन्भेस्टमेन्ट बैङ्कमा पनि ज्योति पान्डेपछिको उत्तराधिकारी देखिँदैन । बैङ्कमा अध्यक्ष पृथ्वीबहादुर पाण्डेका छोरालाई सीईओका रूपमा अघि बढाउने प्रयास भएपनि तत्कालका लागि सम्भव देखिँदैन । पछिल्लो समय बैङिकङ क्षेत्रमा लामो अनुभव हासिल गरेका र राम्रो छवि बनाएका सीईओहरु कार्यकाल बाँकी रहँदै सञ्चालक समितिले दिएको लक्ष्य पूरा गर्न नसकेर र आफ्नो काम गर्ने तौरतरिकाका बारेमा सञ्चालक समितिलाई आश्वस्त पार्न नसक्दा बाहिरिने क्रम बढेको छ । यसले सम्बन्धित संस्थामा रहेका दोस्रो तह र त्यसभन्दा तलका व्यवस्थापन टोलीको काम गराई झनै अन्योलमा देखिन्छ ।

वित्तीय संस्थामा मात्र होइन कुनै पनि संस्थामा प्रथम व्यक्ति मात्रै होइन, दोस्रो र सम्पूर्ण टिम नै प्रतिस्पर्धी र क्षमतावान चाहिन्छ । तर, वित्तीय क्षेत्रमा अन्य टिम अझ सशक्त र जुझारु हुनु जरुरी छ । किनभने वित्तीय क्षेत्र सर्वसाधारणसँग प्रत्यक्ष रुपमा जोडिन्छ । सीईओभन्दा तल क्षमतावान भएन भने सीईओले जे भन्यो त्यही हुन्छ र अन्ततः त्यसको सिकार बैङ्कका निक्षेपकर्ता र साना लगानीकर्ता हुन्छन् । विगतमा वित्तीय संस्थामा भएका वित्तीय अपराधका घटना हेर्ने हो भने सबैमा सीईओको मनोमानीका कारण सम्भव भएको हो र त्यसमा सहयोगीका रुपमा अन्य कर्मचारी परेका छन् । क्षमतावान र प्रतिस्पर्धी सीईओ र टिम नहुँदा सञ्चालक समितिलेसमेत आफू अनुकूलका निर्णय गराउँदै आएको पाइन्छ । त्यसैको परिणाम भर्खरै नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क घोटाला प्रकरण बाहिर आएको छ ।

एनसीसीमा मर्ज हुनुअघि एपेक्स डेभलपमेन्ट बैङ्कका सीईओ र सञ्चालक समितिको मिलेमतोमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ अपचलन भएको र त्यसको भागीदार अन्य कर्मचारीहरुलाई बनाइएको छ । यसअघि समस्यामा परेको एनसीसी बैङ्क होस् वा नेपाल बङ्गलादेश बैङ्क, तत्कालीन किस्ट बैङ्क होस् वा ग्रान्ड बैङ्क नेपाल, परिस्थिति सबैको उस्तै छ । गोर्खाज् फाइनान्समा गाभिनुअघिको गोर्खा डेभलपमेन्ट बैङ्क, नेपाल सेयर मार्केट एन्ड फाइनान्स, क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलगायत समस्याग्रस्त र खारेजीमा गएका विकास बैङ्क र फाइनान्स कम्पनीको समस्याको जड ती संस्थामा क्षमतावान कर्मचारी नभएर सीईओ र सञ्चालकको आदेशपालक भएर काम गर्नु नै हो । क्षमतावान टिम भएको खन्डमा भने उनीहरुले माथिको आदेशलाई जस्ताको तस्तै शिरोधार्य गर्न सक्दैनन् । उनीहरु सकारात्मक वादविवादमा जाने र राम्रो निर्णय लिने गर्छन् ।

बैङ्कमै क्रियाशील सीईओहरु नै कतिपय बैङ्कमा दोस्रो तप्का र टिमको त कुरै छाडौं सीईओ पनि क्षमता नभएका छन् र बेला बेलामा समस्या देखिइरहेको बताउँछन् । ‘संस्थाका अगाडि सीईओ वा अन्य कर्मचारी गौण हुन्छन् । हाम्रो महत्त्वकाङ्क्षा अगाडि ल्याउनु हुँदैन’, एक सीईओले भने, ‘तर, हामीकहाँ सीईओ प्रधान हुने गरेको छ र टिमलाई आत्मसात नगर्दा समस्या हुने गरेको छ ।’ सीईओ आँफैमा क्षमता नहुँदा कतिपय अवस्थामा दोस्रो दर्जाका कर्मचारीलाई जिम्मेवारी दिँदा आफू कमजोर साबित हुने भयले पनि कर्मचारीको स्तरवृद्धि रोकिएको पाइन्छ । सदाबहार सीईओका रुपमा चिनिएका शाह, जोशी, भण्डारी र रत्नराज बज्राचार्यहरुले आफ्नो हैसियत त बनाए तर, वित्तीय क्षेत्रलाई आवश्यक क्षमतावान कर्मचारी उत्पादनमा खासै चासो नदिएको देखिन्छ । कुनै पनि कर्मचारी आत्मविश्वास जागृत गराउनु त्यसको बोसको ठूलो हात हुन्छ । जिम्मेवारी दिएर, उत्तरदायी बनाउन सके कर्मचारीको आत्मविश्वास बढ्छ र अगाडि बढ्न बाटो खुल्छ । वित्तीय संस्था वृद्धि भएपनि जनशक्ति त्यहीअनुरुप दक्ष हुन सकेको छैन । जसको असर दोस्रो दर्जा र बैङ्कहरुका सम्पूर्ण टिममा परेको देखिन्छ ।

कतिपय सीईओहरु एकलौटी ढङ्गले बैङ्क चलाउन खोज्दा ‘सक्सेसर’ तयार नहुने गरेको बैङ्कहरुकै भनाई छ । सीईओहरुले सञ्चालक समितिमा आँफै मात्रै डिल गर्नुको अर्थ या सीईओमा आफ्ना कर्मचारीप्रति विश्वास छैन, अथवा आफ्ना कमजोरी थाहा हुन्छ भनेर अर्को व्यक्तिलाई पालो दिइँदैन । वित्तीय क्षेत्रमा देखिएको अर्को समस्या आफ्ना कर्मचारी जस्तासुकै हुन्, केन्द्रीय बैङ्कलाई आफ्नो दाहिने बनाएर काम गर्नेहरु पनि प्रशस्तै छन् । तर, एउटा कालखण्डपछि राष्ट्र बैङ्कसँग नजिक भएर बस्ने धेरै संस्था समस्यामा पर्ने गरेका छन् । नेपाल बङ्गलादेश बैङ्क, माछापुच्छ«े बैङ्क, एनसीसी बैङ्क, एनसीसीमा गाभिनुअघिको एपेक्स डेभलपमेन्ट बैङ्क, खारेजीमा गएको नेपाल विकास बैङ्क र सम्झना फाइनान्स, सिनर्जी फाइनान्समा मर्ज हुनुअघि बुटवल फाइनान्स र एल्पिक एभरेस्ट फाइनान्सलाई लिन सकिन्छ । अहिले पनि केही बैङ्क तथा वित्तीय संस्थाहरु राष्ट्र बैङ्कसँग नजिक रहेर त्यसको फाइदा लिन खोजिरहेको पाइन्छ ।