नेपाली कामदारमाथी यूएईको विभेद, ७ मुलुकमा नचाहिने प्रहरी रिपोर्ट नेपालीलाई मात्र

यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाएर चर्काे शुल्क तिर्दै प्रमाणीकरण गर्नुपर्ने बाध्यता भएपनि भारतसहित ७ मुलुकका कामदारलाई भने आवश्यक नपर्ने देखिएको छ ।

यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाएर त्यसका लागि ४ हजार ३ सय तिरेर यूएई दूतावासमा प्रमाणीकरण गर्नुपर्ने भएपनि भारत, श्रीलंका, इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्ुयुनिसियाका कामदारका लागि भने आवश्यक नपर्ने यूएईको सञ्चारमाध्यम इमिरेट्सपिआरले जनाएको हो ।

रोजगारीका लागि युएई जाने नेपाली कामदारलाई अनिवार्य पुलिस रिपोर्ट र त्यो रिपोर्ट दुतावासमार्फत प्रमाणीकरण गर्नुपर्ने नियमले नेपाली कामदार आर्थिक भारमा पर्दै आइरहेका छन् ।

युएई सरकारले फे्रबअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि युएई आउने कामदारले अनिवार्य रुपमा आचरण तथा चालचलनको प्रमाणपत्र पेस गर्नुपर्ने नियम सुरु गरेको थियो । सोहि नियम अनुसार कामदार आफैं रिपोर्ट लिएर दुतावास प्रमाणीकरणका लागि जानुपर्ने बाध्यताले लाजिम्पाटस्थित युएईको दुतावासमा ३ सातासम्म कामदारको भिड बढेको थियो । भिड अव्यवस्थित भएपछि दुतावासले प्रमाणीकरणको सहजीकरणका लागि २ ट्राभललाई जिम्मा दिएको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले ७ मुलुकका कामदारलाई नचाहिने प्रहरी रिपोर्ट नेपाली कामदारलाई मात्र आवश्यक हुनुले नेपाली कामदारप्रति विभेद भएको बताए । ‘यसमा हाम्रो सरकारको पनि कुटनीतिक पहल छैन, त्यसैले दुतावासले पनि सजिलै हेपेको महसुस हुन्छ,’ उनले भने । अन्य मुलुकमा प्रहरी रिपोर्ट बनाउन महिनादिन लाग्छ त्यो झन्झटिलो प्रक्रिया पनि छ त्यसैले माग भएका कामदारको आपूर्तिमा समस्या हुने भएकाले अरु मुलुकमा प्रहरी रिपोर्ट आवश्यक नपरेको उनले बताए । ‘नेपालमा प्रहरी रिपोर्ट सजिलै पनि बन्ने र त्यसमा पनि प्रमाणीकरण गरेर शुल्क लिन पाइने भएपछि दुतावासले नछोडेको हो,’ उनले भने । यसका लागि सरकारले तुरुन्तै राजदुतलाई बोलाएर सोध्नुपर्ने उनले बताए ।

युएईले भिजिट भिसाका लागि भने नयाँ नियम लागू गरेको छैन । युएईमा करिब दुई लाख ५० हजार नेपाली कामदार छन् ।