पुन:निर्माणका लागि नयाँ कार्ययोजनाको तयारीमा प्राधिकरण

भूकम्पपछि निजी आवास निर्माणमा भइरहेको ढिलाइ तथा अनुदानमा देखिएका समस्या, बढ्दो जनगुनासो, वित्तीय समस्या, लाभग्राहीलाई किस्ता वितरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्ययोजना बनाउन लागेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले क्यापिटल नेपाललाई जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणलाई तीव्र र प्रभावकारी बनाउन नयाँ कार्ययोजना बनाएर अगाडि बढ्ने भएको छ । भूकम्पपछि निजी आवास निर्माणमा भइरहेको ढिलाइ तथा अनुदानमा देखिएका समस्या, बढ्दो जनगुनासो, वित्तीय समस्या, लाभग्राहीलाई किस्ता वितरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्ययोजना बनाउन लागेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘पुनःनिर्माणलाई तीव्रता दिन नयाँ कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौँ’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा नियमित बैठक जारी राखेका छौँ ।’ उनले पछिल्लो पुनःनिर्माणको काम तीव्र रुपमा भइरहेको र प्राधिकरणले थप कार्ययोजना बनाएर काम गर्ने तयारी गरेको बताए । भूकम्प पीडितका लागि ऋण प्रवाहमा समस्या, आवास अनुदान, बैङ्किङ तथा वित्तीय समस्याका कारण तोकिएको समयमा पुनःनिर्माण गर्न नसकिएको लगायतका समस्या समाधान गर्न नयाँ कार्ययोजना आवश्यक रहेको प्रवक्ता भूसालले जानकारी दिए ।

हाल प्राधिकरणमा अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाका गरी २ लाख ३७ हजार गुनासा दर्ता भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म १ लाख १३ हजारभन्दा बढी घरहरु निर्माण भइसकेको र झन्डै ४ लाख घरहरु निर्माणाधीन रहेका छन् । त्यस्तैगरी दोस्रो र तेस्रो किस्ताका लागि निवेदन दिनेहरुको सङ्ख्या पनि बढ्दै जान थालेको छ । हालसम्म ३ लाख ३६ हजार लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् भने झन्डै १ लाख लाभग्राहीले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् । अति प्रभावित १४ जिल्लामा ६ लाखभन्दा बढी लाभग्राहीले पहिलो किस्ता र २ लाख ९० हजार लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । त्यस्तैगरी कम प्रभावित १८ जिल्लामा ८२ हजारभन्दा बढीले पहिलो किस्ता र ६८ हजार १ सय ६७ लाभग्राहीले दोस्रो किस्ता पाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दोस्रो किस्ताका लागि चैत मसान्तसम्मको अवधि तोकेको छ ।

प्राधिकरणले अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लामा थप ४१ हजार निर्माणकर्मी खटाउने तयारी गरेको छ ।