अहिलेकै पूर्वाधारले १५ लाख पर्यटक ल्याउन असम्भव

सरकारले आवश्यक पूर्वाधार निर्माण नगरी महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

अहिले भइरहेको पर्यटकीय संरचनाबाट सन् २०२० सम्म १५ लाख पर्यटक नेपाल भित्र्याउन असम्भव देखिएको छ । सरकारले आवश्यक पूर्वाधार निर्माण नगरी महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने नारायणगढ–मुग्लिन सडक तीन वर्षमा पनि पूरा नभएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता कम भएको र दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सडक स्तरोन्नति नभएकै कारण सोचेजस्तो बाह्यपर्यटक नेपाल भित्रुयाउन नसकिने होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २०२० भित्र वार्षिक १५ लाख पर्यटक भित्र्याउने घोषणा गरेका थिए । ‘मन्त्री अधिकारीको घोषणा राम्रो छ, तर अहिलेको अवस्थामा सम्भव छैन’, हानका महासचिव शाहले भने, ‘सरकारले आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु पर्छ ।’ मन्त्री अधिकारीले अहिले गरिरहेको काम निकै प्रशंसा योग्य रहेपनि सरकारी कर्मचारीको काम गर्ने तौरतरिका भने उस्तै रहेको महासचिव शाहले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो भएकाले २४सै घण्टा सञ्चालन हुने वातावरण बनाउन सके पनि धेरै पर्यटकहरु नेपाल भित्रिने विश्वास शाहको छ ।

होटल व्यवसायीहरु अहिले पनि वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताइएको छ । काठमाण्डौका पाँचतारे र चारतारे होटलमा मात्र २०२० भित्र ४ हजार कोठा थपिने तयारीमा छन् । बाह्य पर्यटकलाई लक्ष्य गरी होटलका कोठाहरु थपिँदै गएको र नयाँ होटल पनि निर्माण हुने क्रमले तीव्रता पाएको महासचिव शाहले जानकारी दिए ।

‘देशको मुख्य अर्थन्तत्रसँग जोडिएको नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न नभएकै कारण निजी क्षेत्रलाई वार्षिक करोडौं रुपैयाँ घाटा भइरहेको छ, सडककै कारण चितवनको सौराहका खरबौं रुपैयाँ लगानी गरेर खुलेका होटलहरु समस्यामा परेका छनु, त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ’, महासचिव शाहले भने ।

‘२०२० भित्र वार्षिक १५ लाख हैन, २५ लाख पर्यटक भित्र्याउन सकिन्छ’, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सीएन पाण्डेले भने, ‘यदि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउँछ, नारायणगढ–मुग्लिन सडक ०७५ बैशाखभित्रै सम्पन्न हुन्छ र केरुङ नाकाको स्तरोन्नति हुन्छ भने ।’ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटमा भारतका प्रधानमन्त्री मोदीले नेपालको पर्यटन विकासमा चासो दिएको नाट्टाका अध्यक्ष पाण्डेको भनाइ छ । ‘केरुङ नाकाको स्तरोन्नति भएपछि सडक मार्ग बाट दैनिक २ हजार पर्यटक नेपाल भित्र्याउन सकिन्छ’, पाण्डेले भने ‘सरकारले घोषणा गरेको १५ लाख पर्यटक न्यूनतम हो ।’