एयरपोर्टमा पर्यटक लुट्ने ४ जना पक्राउ

अमेरिकाबाट दुबई हुँदै नेपाल आएका पर्यटकहरुलाई त्रिभुवन विमानस्थलमा पैसा लुट्ने ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पर्यटकको लगेज र ट्रली समातेर सहयोग गरेजस्तै गर्ने र टिप्स माग्ने बहानामा पर्सबाटै पैसा थुत्ने ४ जनालाई पर्यटक रिसिभ गर्न गएकाहरुको सहयोगमा पक्राउ गरि प्रहरीलाई बुझाइएको हो ।
आफ्ना पाहुनालाई रिसिभ गर्न पुगेका पेम दोर्जी शेपाले विमानस्थलमा पर्यटकलाई लुट्ने ४ जनालाई पक्राउ गरि प्रहरीलाई बुझाएको बताए । ‘१५ जना अमेरिकी युवाहरु नेपालमा भोलिन्टर गर्न आएकोमा विमानस्थलमा ३ जनाबाट पैसा लुटेपछि पक्राउ गरि प्रहरीलाई बुझाइएको छ,’ उनले भने ।

लगेज र ट्रली समातेर सहयोग गरेजस्तै गर्ने र टिप्स माग्ने गर्दारहेछन्, टिप्स दिने बेला पर्स नै थुत्ने र पैसा झिकेर भाग्न लागेको बेला समातेको उनले बताए ।

‘सहयोग चाहिदैनभन्दा पनि जबरजफ्ती सहयोग गर्न खोज्ने र लुट्ने प्रवृत्ति पहिलादेखि नै रहेछ आज हामीले थाहा पाएपछि अरु खुलासा पनि भयो,’ उनले भने ।
नेपालमा पहिलोपटक आएका १८ बर्षमुनीका १५ युवामा यो घटनाले नराम्रो छाप पारिरहेको उनले बताए । ‘एयरपोर्टजस्तो ठाउँमा नै पर्यटक लुटिने अवस्था भएपछि पर्यटकको सुरक्षामाथी गम्भिर प्रश्न खडा भएको छ,’ उनले भने ।

विमानस्थलका कर्मचारी नभएपनि विमानस्थल प्रशासनले उनीहरुलाई परिसरमा लामोसमयदेखि बस्न दिएकाले यस्तो घटना भैरहेको उनले बताए ।

प्रहरीले पक्राउ गरेका ४ जनाबाट डलस, पाउण्डलगायत विदेशी मुद्रा बरामद गरेको छ ।

विमानस्थल प्रहरीले उनीहरुमाथी अनुसन्धान सुरु भैसकेको जनाएको छ ।