प्रदेश ७ लाई खुसीको खबर, धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा

सरकारले धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु गरेको छ । प्रदेश नम्वर ७ को राजधानी समेत रहेको धनगडी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सुरु भएपछि व्यवासायीहरु र स्थानीयहरु खुसी भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २०२० भित्रमा नेपालमा बार्षिक १५ लाख पर्यटक भित्राउने घोषणा गरेका थिए । घोषणा अनुसार पर्यटक भित्र्याउनको लागि आवश्यक पूर्वधारहरुलाई स्तरउन्नति गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक २१ घण्टा संञ्चालन गर्ने र धनगडी विमानस्थलबाट रात्रिकालीन सेवा सुचारु गर्ने समेत बताएका थिए । सोही अनुसार धनगढी विमानस्थलले रात्रिकालीन सेवा दिन सुरु गरेको हो । विमानस्थल सुरु भएपछि मन्त्रि अधिकारीले ट्वीट गर्दै भनेका छन्, ‘धनगढी विमानस्थलमा रात्रिकालीन हवाइसेवा सञ्चालन गर्न सक्ने वनाइ सेवा सुरु भएको छ र यो सेवा निरन्तर रहनेछ । बधाइ छ प्रदेश नं ७ लाई ।’ ।

नेपाल नागरीक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले धनगडी विमान स्थलमा रात्रिकालीन सेवा सुरु भएको बताए । ‘रात्रिकालिन उडान सुरु भएपछि एयर ट्राफिक जाम केहि मात्रामा कम भएको छ,’ क्यानका महानिर्देशक गौतमले भने, ‘आन्तरिक एवम् बाह्य पर्यटकलाई सहज हुन्छ । हाल बुद्ध एयरले रात्रिकालीन उडान भरिरहेको छ ।’

होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले धनगढी विमानस्थलले रात्रिकालीन उडान भरेपछि होटल व्यवसायी निकै उत्साहित भएको बताए । ‘संघिय संरचनाको राजधानीको रुपमा रहेको धनगढीमा रात्रिकालीन उडान भर्नु होटल व्यवसायीको लागि खुसिको कुरा हो, यसले आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन थप सेवा पुग्छ, हानका महासचिव शाहले भने । धनगढीमा पछिल्लो समय धेरै होटलहरु सञ्चालनमा रहेका छन् । ‘रात्रिकालीन उडानले ति होटलहरुलाई राम्रो प्रभाव पार्छ, शाहले भने ।