आउटबाउन्डमा कान्तिपुर होलिडेजको बदमासी

आकर्षक प्याकेज देखाएर विदेश घुमाउन लैजाने कान्तिपुर होलिडेजले पूरा पैसा लिएपनि सुविधा नदिएको घुमेर फर्केका नेपालीले गुनासो गरेका छन् ।

कतिपय पर्यटकले भने ट्राभलले टिकट बुक नगर्दा नेपालबाट नै जान नपाएको बताएका छन् । आउटबाउन्डमा ट्राभलको ठगीको विषय सार्वजनिक भैरहेको बेला अग्रणी ट्राभल कान्तिपुरले पनि घुम्न जाने नेपालीमाथि विभिन्न समयमा लापरवाही गरिरहेको आरोप लागेको हो ।

काठमाडौंका महेन्द्र श्रेष्ठले कान्तिपुर होलिडेजमार्फत इजिप्ट घुम्न जानका लागि एयरपोर्ट पुगेपनि ट्राभलको लापवरवाहीले एयरपोर्टबाट फर्किनुपरेको गुनासो गरे । ‘गत वर्ष कान्तिपुर होलिडेजमार्फत इजिप्टको प्याकेज किनियो र एयरपोर्ट गइयो, फ्लाइट टिकेट नै बुक नभएको पाइयो । टिकट नभएपछि हामी मध्यरातमा फर्किनुपर्यो’, उनले भने । ट्राभलसँग कुरा गरेर टिकट बनाएपछि भोलिपल्ट गएको उनले बताए । उता गएपछि फर्किने बेलामा फरक फरक फ्लाइट परेपछि परिवारसँगै फर्किन नपाएको उनले बताए । यस विषयमा ६ महिनादेखि कुरा गर्न खोजेपनि कुनै रेस्पोन्स नभएको उनले बताए ।

कान्तिपुर होलिडेजकै फेसबुक पेजमा युरोपका लागि होलिडेजले आकर्षक विज्ञापन गरेपनि जाने भनेर सोधखोज गर्दा कुनै डिटेल नदिएको रविकुमार रौनियारले गुनासो गरेका छन् । लैजान सकिँदैन भने किन विज्ञापन गर्नु ? उनले प्रश्न गरेका छन् । चितवन गीतानगरका महेन्द्र शर्माले दसैंको बेला कान्तिपुर होलिडेजबाट युरोपका लागि भनेर किनेको प्याकेज अर्कै ठाउँको परेपछि क्यान्सिल गर्नुपरेको बताए ।

कान्तिपुर होलिडेजका कार्यकारी निर्देशक रमेश पराजुलीले ट्राभलमा ठूलो समस्या नआएको बताए । ‘हामीले वर्षमा १५ हजारलाई सेवा दिन्छौं, अहिलेसम्म समस्या आएको छैन,’ उनले भने । केही समस्या आए तुरुन्तै समाधान हुन्छ । विदेशमा पनि समस्या भए त्यहाँको एजेन्सीले तत्काल खबर गर्छ र समाधान गर्ने उनले बताए । ‘जति पनि गुनासो आएको छ, त्यो जाने यात्रुकै कमजोरीले भएको हो,’ उनले भने ।

पछिल्लो पटक आउटबाउन्डमा ट्राभल कम्पनीको ठगी बढ्न थालेको छ । पैसा लिएर घुम्न नपठाउने र पूरै पैसा लिएर पनि तोकिएको सुविधा नदिए पछि आफ्नो बिदा विदेशमा मनाउने नेपालीहरु ठगिन थालेका हुन् । इन्डोनेसियाको बालीमा ५५ जनालाई घुमाउन लैजाने भन्दै ओशो भिजन ट्राभल एन्ड टुर्सले प्याकेज बनाएर २६ लाख रकम लिएर नपठाए पछि प्रहरीले ट्राभलका ४ जना सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीले ओशो भिजनका मुना सिंह, कपिल अम्गाईं, हरिप्रसाद भट्ट र अप्सरा कँडेल पाण्डेलाई मुद्दा चलाएको हो ।