रेलमार्गबाट जोडिँदै पूर्व–पश्चिम

तीन अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त रेलमार्ग ५० मिटर चौडाइसहित सिङ्गल ट्र्याक हुने रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किलोमिटर रेलमार्ग निर्माणका लागि ट्र्याक निर्माण सम्पन्न भएको छ । पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सो ट्र्याक निर्माण गरिएको हो ।

तीन अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त रेलमार्ग ५० मिटर चौडाइसहित सिङ्गल ट्र्याक हुने रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । काकडभित्तादेखि बुटवलसम्मको रेलमार्ग निर्माणको डिजाइन तयार भएको पनि उनले क्यापिटल नेपाललाई बताए । ‘अहिले पूर्व—पश्चिम रेलमार्गअन्र्तगत बर्दिबासदेखि लालबन्दीसम्मको २५ किमी सिङ्गल ट्र्याक निर्माण सकिएको छ,’ उनले भने, ‘बर्दिबासदेखि वाग्मती नदीसम्मको १८ किमी रेलमार्ग निर्माणको काम पनि छिट्टै सुरु हुने छ ।’

रेल तथा मेट्रो विकास आयोजनाले निर्माण गरेको रेलमार्ग पूर्व–पश्चिम राजमार्गको नजिक पर्छ । यो रेलमार्ग झण्डै ९ सय ४५ किमी लामो हुने विभागले बताएको छ । सरकारको उच्च प्राथमिकतामा परेको रेलमार्गको १ सय ३५ किमी बर्दिबास—सिमरा—वीरगन्ज खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भएको थियो । बर्दिबासदेखि वीरगन्ज रेलमार्ग प्रत्यक्ष रुपमा भारतीय रेलसञ्जालसँग जोडिने छ । त्यहाँ हाल जनकपुर–जयनगर रेलमार्गको काम पनि भइरहेको छ ।

अहिले काठमाडौँ उपत्यकामा रेल ल्याउने उद्देश्यले रक्सौल—काठमाडौं रेलमार्ग निर्माणलाई सरकारले प्राथमिकता दिएको छ । रेल विभागले पनि उक्त रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न विदेशी कम्पनी छनोट गर्ने तयारी गरेको छ । ६ महिनाभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाउने गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिने तयारी विभागले गरेको इन्जिनियर उपाध्यायले बताए ।

हालै प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाललाई जलमार्ग र रेलमार्गसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।