तीन होटलले मात्र गरे ईआईए

वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण (आईईई)गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

नेपालका तीनवटा होटलले मात्र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर सञ्चालन गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ईआईए गर्नेहरुमा फाइभ स्टार डिलक्स होटल एन्ड रिक्रिएसन सेन्टर मुगु, कङ्गो भ्यू रिसोर्ट कङ्गोबारी चौरीखर्क सोलुखुम्बु र फारक्पा भिलेज रिसोर्ट चौरीखर्क सोलुखुम्बु छन् ।

वातावरण विभागले २०५४ सालबाटै कानुन ल्याएर होटल सञ्चालन गर्दा अनिवार्य रुपमा ईआईए र वातावरणीय परीक्षण (आईईई)गराउनुपर्ने प्रावधान ल्याएको थियो । तर होटल व्यवसायीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

वातावरण विभागका वातावरण निरीक्षक भुवन शर्माले २०५४ अघि बनेका होटलले भने ईआईए र आईईई गराउनु नपर्ने बताएका छन् । ‘०५४ सालअघि बनेका होटलले नयाँ संरचना र नयाँ स्वरुप बनाउँदा भने अनिवार्य रुपमा आईईई र ईआईए गराउनुपर्छ,’ शर्माले भने, ‘नयाँ होटल आईईई र ईआईए प्रतिवेदन पास नभएसम्म सञ्चालन गर्न पाइँदैन ।’ तर नेपालका ९९ प्रतिशत होटलले आईईई र ईआईए पास गराएका छैनन् ।

वातावरण विभागले ऐनकानुन ल्याए पनि पर्याप्त मात्रामा जनशक्ति नभएकै कारण अनुगमन गर्न नसकिएको वातावरण निरीक्षक शर्माको भनाइ छ । ‘सुरुमा आवश्यक जनशक्ति थिएनन्, अनुगमन र निरीक्षण गर्न पाइएन, अब जनशक्ति पूरा छ, अनुगमनलाई कडाइका साथ अगाडि बढाउँछौँ,’ उनले भने । अनुमगनका क्रममा आईईई र ईआईए नगरेको पाइए सुरुमा स्पष्टीकरण सोध्ने, त्यति गर्दा पनि अटेर गरेमा १ लाख रुपैयाँसम्मको जरिवाना गर्ने र बन्द गर्नेसमेतको अधिकार आफूहरुसँग रहेको शर्माको भनाइ छ ।

पचास बेडदेखि १ सय बेडसम्मका होटलले आईईई गराउनुपर्ने र त्योभन्दा धेरै बेड भएका होटलले भने ईआईए नै गराउनुपर्ने उल्लेख गरिएको छ । कुनै पनि उद्योग सञ्चालन गर्नुअघि त्यस आसपासका स्थानीयहरुलाई अनिवार्य जानकारी र उनीहरुको स्वीकृति लिनुपर्नेछ ।

नेपालमा कतिवटा होटल सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । प्राप्त तथ्याङ्कअनुसार कम्पन्नी रजिस्ट्रारको कार्यालयमा २०२१ सालदेखि २०७३ सालसम्ममा ३ हजार ६ सय ८२ दर्ता भएका छन् । पर्यटन विभागमा १ हजार १ सय ५, नेपाल पर्यटन बोर्डको अध्ययनमा २ हजार ६ सय ४, राष्ट्र बैङ्कले गरेको अध्ययनमा २ हजार ४ सय ५० र होटल एसोसिएसन अफ नेपाल (हान) मा २ हजार ९० ओटा होटल छन् ।