पर्यटकको खर्च बढ्यो, बढेन बसाइ अवधि

विदेशी पर्यटक नेपालमा सरदर १३ दिन बस्ने गरेको बोर्डले जनाएको छ ।

नेपाल आउने बाह्य पर्यटकले दैनिक गर्ने खर्चको दर बढे पनि बसाइ अवधि बढेको छैन । अहिले पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने गरेको पर्यटन बोर्डको भनाइ छ । ‘अहिले पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने गरेका छन्,’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने, ’म बोर्डमा सीईओ भएर आउँदा बाह्य पर्यटकले दैनिक ४७ डलर खर्च गर्ने गरेका थिए, अहिले ६५ डलरमा पुगेको छ । यो सबैभन्दा ठूलो उपलब्धि हो ।’

नेपाल आउने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि खर्च गर्ने दर भने बढेको थिएन । नेपालमा आउने पर्यटकको बसाइ अवधि बढाउन बोर्डले विशेष प्याकेज ल्याउने तयारी गरिरहेको उनले बताए । पूर्वाधार विकाससँगै डिजिटल प्रविधिबाट विश्वव्यापी प्रचारमा बोर्ड लागेको जोशीको भनाइ छ ।

होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले पनि नेपाल आउने बाह्य पर्यटकले दैनिक खर्च गर्ने दर बढेको बताए । ‘खर्च गर्ने दर बढेको छ । तर बसाइ अवधि बढेको छैन,’ उनले भने, ‘नेपालको पर्यटन उद्योगका लागि आवश्यक पूर्वधार पूरा नभएकै कारण बाह्य पर्यटकलाई लामो समयसम्म नेपालमा राख्न नसकिएको हो ।‘

निजीक्षेत्र बाट पर्यटन विकासमा धेरै काम गरिएको भए पनि सरकारी स्तरबाट भइएका काम प्रभावकारी नभएकै कारण समस्या उत्पन्न भएको शाह बताउँछन् । पर्यटकका लागि आवश्यक होटल पर्याप्त रहेको र नेपाल–भारत एवम् चीनसँग जोडिएका सडकको स्तरोन्नति गर्न आवश्यक रहेको उनको भनाइ छ । हवाईभन्दा सडकमार्गबाट भारतीय र चिनियाँ पर्यटक नेपाल भित्रने गरेका छन् । ती पर्यटकलाई आकर्षित गरी लामो समयसम्म नेपालमा राख्ने वातावरण सरकारले बनाउनुपर्नेमा शाहले जोड दिए ।
सरकारले नयाँनयाँ पर्यटकीय स्थलहरुको पहिचान गरी त्यहाँ आवश्यक पूर्वधारहरु बनाउन सके नेपालमा पर्यटकलाई लामो समय राख्न सकिने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का अध्यक्ष सीएन पाण्डेले बताए ।

‘सरकारले पूर्वधार बनाए हुन्छ, अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण हामी आफैं गर्छौं,’ उनले भने । विदेशी पर्यटक नेपालमा सरदर १३ दिन बस्ने गरेको बोर्डले जनाएको छ ।