सुपर दोर्दीको निर्माण ३५ प्रतिशत सकियो, १९ सय मिटर टनेल निर्माण

आयोजनाको अहिले ८ हजार ९ सय मिटर टनेलमध्ये १९ सय मिटर टनेल निर्माणको काम सकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद गौतमले जानकारी दिए ।

लमजुङमा निर्माणाधीन ४९.६ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको ३५ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको अहिले ८ हजार ९ सय मिटर टनेलमध्ये १९ सय मिटर टनेल निर्माणको काम सकिएको आयोजनाका प्रमुख अर्जुनप्रसाद गौतमले जानकारी दिए । ‘अहिले टनेलको काम २१ प्रतिशत सकिएको छ,’ उनले भने, ‘आयोजनास्थलसम्म बाटो विस्तार गरेका छौँ ।’ इलेक्ट्रो मेकानिकलका लागि ठेक्का सम्झौता प्रक्रिया अगाडि बढेको र हाइड्रो मेकानिकलतर्फ टेन्डर आह्वानको तयारीमा रहेको उनले बताए ।

विसं २०७१ सालमा निर्माणको अनुमति पाएको आयोजना ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य लिएपनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण निर्माण अवधि लम्बिएको हो । कुल अनुमानित लागतमध्ये अहिलेसम्म १ अर्ब ६५ करोड रुपैँया आयोजना निर्माणका लागि खर्च भइसकेको आयोजना प्रमुख गौतमले बताए । ‘कुल लगानीको १ अर्ब ६५ करोड रुपैँया खर्च भइसकेको छ ।’ उनले भने ।

कुल ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैङ्कको अगुवाइमा ९ ओटा बैङ्कको ५ अर्ब ८० करोड रुपैयाँ लगानी छ । परियोजनाबाट २०७७ साल असारबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण ठेक्का पाएको उक्त आयोजना निर्माण गर्न बाँध, सुरुङ र विद्युतगृह निर्माण गर्न छुट्टा छुट्टै ठेकेदार कम्पनी छनोट गरिएको छ । आयोजनाको बाँध बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युतगृह हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले निर्माण गर्ने जिम्मा पाएका छन् ।

कम्पनीले ४९.६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि भई ५४ मेगावाट पुगेको छ । थपिएको ४.४ मेगावाटका लागि ४४ करोड रुपैयाँ बराबरको लागत थपिने गौतमले बताए ।
२०७७ असारसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएपनि मस्र्याङ्दी करिडोर प्रसारण लाइन अगाडि बढ्न सकेको छैन । फलस्वरुप विद्युत् खेर जान सक्ने सम्भावना रहेको उनले बताए । विसं २०७६ सालसम्म प्रसारण लाइन निर्माण गरिसक्नुपर्ने भएपनि अहिलेसम्म ठेक्का सम्झौता हुन सकेको छैन ।