जहाज निकाल्न सुरक्षाकर्मीसहित १ सय ३० जना र दुई ओटा ‘टोबार’ प्रयोग

चिप्लिएर धाँसे मैदानमा पुगेको मालिन्दो एयरको जहाज निकाल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुई ओटा टोबार प्रयोग

रनवेबाट चिप्लिएर धाँसे मैदानमा पुगेको मालिन्दो एयरको जहाज निकाल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुई ओटा टोबार प्रयोग गरेको छ ।

राति परेको पानीका कारण जहाज गहिरोसँग भासिएकाले दुई ओटा टोबार प्रयोग गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

रातिको वर्षाले जमिन हिलो भएको र ठूलो जहाज भएकाले निकाल्न केही समय लागेको उनको भनाइ छ । ‘अहिले दुई ओटा टोबार तथा जेसीबीको सहायतामा जहाज निकाल्ने काम भइरहेको छ ।’

‘हिलो नभएको भए, एक घण्टामै जहाजलाई निकालेर अन्तर्राष्ट्रिय उडान सुरु भइसक्थ्यो,’ उनले भने, ‘तर, हिलो र जहाज ठूलो भएकाले केही समय लागेको हो ।’

जहाज निकाल्न ७० जना नेपाली सेना, प्रहरी ३० र नेपाल एयरलाइन्सका ३० जना कर्मचारी खटिएका छन् । यस्तै जेसीबी २ अाेटा क्रेन २ र टाेबार २ अाेटा प्रयाेग भइरहेकाे छ ।