हनुमानढोकाबाट स्वयम्भूसम्म पदमार्ग बनाऔं, पर्यटनमन्त्री अधिकारी

हुनमानढोका दरबार सङ्ग्रहालय विकास समितिको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री रवीन्द्र अधिकारीले पदमार्ग बनाउन प्रस्ताव राखेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकाबाट स्वयम्भूसम्म पदमार्ग बनाउन प्रस्ताव राखेका छन् । हुनमानढोका दरबार सङ्ग्रहालय विकास समितिको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पदमार्ग बनाउन प्रस्ताव राखेका हुन् ।

’एक विश्वसम्पदाबाट अर्को विश्वसम्पदासम्म जान पदमार्ग बनाऔं,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘बाटो तपाईंहरुले बनाउनुस्, सडक बत्ती मन्त्रालयले सहयोग गर्छ ।’ काठमाडौं महानगरापलिकाका मेयर, हुनमानढोका दरबार सङ्ग्रहालय विकास समितिका पदाधिकारी र जनप्रतिनिधिहरुतर्फ इङ्गित गर्दै मन्त्री अधिकारीले यो कोलाहलबाट मान्छेहरुलाई वाक्क दिक्क भएकाले साँझको समयमा यात्रा गर्न नयाँ पदमार्ग स्थापना गर्न जरुरी रहेको बताए ।

’पदमार्ग राति ८ बजेदेखि १२ बजेसम्म खुलाउनु पर्छ,’ मन्त्री अधिकारीले भने, ‘हनुमानढोकाहुँदै स्वयम्भूको डाडाँसम्म आन्दनका साथ हिँड्न पाऊन् ।’ उनले पदमार्गमा सवारी साधान निषेध गर्नुपर्ने बताउँदै सम्बन्धित वडाहरुसँग सहमति लिएर यो कामलाई तत्काल अगाडि बढाउन आग्रह समेत गरेका छन् । यस्तै काठमाडौं र भक्तपुरका महत्त्वपूर्ण सम्पदाहरुमा विद्युतीय सवारीसाधनको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

यो वर्ष सम्पदाहरुको पुनःनिर्माण सकाउने वर्षको रुपमा प्रयोग गर्न सम्बन्धित निकायलाई मन्त्री अधिकारीले निर्देशन समेत दिएका छन् । केही सम्पदाहरु विवादका कारण पुनःनिर्माण ढिलाई भएको बताउँदै अब दु्रत गतिमा काम अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए । लामो समयदेखि विवादमा रहेको रानिपोखरीको पुनःनिर्माण जेठ १५ गतेदेखि हुने बताउँदै अहिले निर्माण भएको कङ्कृट भत्काउने जानकारी दिए ।

पानी घडी बनाऔं, शताब्दी पुरुष जोशी

शताब्दी पुरुष सत्यमोहन जोशीले १५ सय वर्षअघि हनुमानढोका नजिकै पानी घडी रहेको स्मरण गराउँदै पुनः त्यस्तै घडी बनाउन संस्कृतिमन्त्री अधिकारीलाई अनुरोध गरेका छन् । ’हाम्रा पुर्खाहरुले घडी नहुँदा समय मापनका लागि पानी घडी बनाएका थिए’, अब हामी पनि त्यस्तै घडी बनाऔं, शताब्दी पुरुष जोशीले भने, ‘पर्यटकहरु पनि आउँछन्, सम्पदा पनि जोगिन्छ ।’ ‘पुर्खाहरुले त्यही पानी घडीको आधारमा साइतहरु निकाल्ने गरेका थिए, अब फेरि त्यसलाई पुनर्जन्म दिनुपर्छ,‘ जोशीले भने ।

राजा प्रताप मल्लको शालिक पुनःस्थापित

२०७२ साल बैशाख १२ गते गएको भूकम्पमा ढलेको राजा प्रताप मल्लको शालिक पुनस्र्थापना गरी अनावरण गरिएको छ । भूकम्प गएको तीन वर्षपछि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले शालिकको अनावरण गरेका हुन् । यस्तै उनले ’भग्नावशेषबाट पुनरुत्थान‘ सङ्ग्रहालयको समेत उद्घाटन गरेका छन् ।