स्थानीयको विरोधपछि ‘डोेमेस्टिक’ एयरपोर्ट ठूलिचौरबाट सर्याे

दैनिक ४ सयभन्दा बढी उडान हुने गरेको छ, तीमध्ये ८० ओटा अन्तर्राष्ट्रिय उडान हुन्छन् भने ३ सय २० ओटा आन्तरिक उडान हुने गरेको छन् । साना क्षमताका जहाजहरु र हेलिकप्टरलाई मात्र काभ्रेमा सिफ्ट गर्न सके एयर ट्राफिक जाम कम हुन्छ ।

स्थानीयको विरोधपछि काभ्रेको ठूलिचौरमा बन्न लागेको ’डोेमेस्टिक‘ एयरपोर्ट नबन्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघँुरिदै गएपछि सरकारले ’डोेमेस्टिक‘ एयरपोर्टलाई ठूलिचौरमा सार्ने योजना बनाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिनको कार्यक्रमअन्तर्गत डोेमेस्टिक एयरपोर्टको सम्भाव्यता अध्ययन सिध्याउने उल्लेख गरेका थिए । त्यसलग्तै स्थानीयको विरोधले ठूलिचौरमा गर्ने भनिएको सम्भाव्यता अध्ययनको काम रोकिएको मन्त्री अधिकारीले जानकारी दिए ।

’एयरपोर्टमा अत्यधिक चाप परेपछि डोेमेस्टिक एयरपोर्ट ठूलिचौरमा सार्ने योजना बनाएको हो‘ उनले भने, ’ठूलिचौरका स्थानीयको विरोधपछि काभ्रेकै नागीडाँडामा प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।’

उनले १५ देखि २० दिनभित्रमा नागीडाँडामा प्रारम्भिक सम्भाव्यता अध्ययन सकेर सरकारलाई प्रतिवेदन बुझाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् । स्थानीयको समस्या समधानका लागि आवश्यक परे आफू पनि नागीडाँडामा जान तयार रहेको मन्त्री अधिकारीको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आन्तरिक उडानको चाप दिनानुदिन बढिरहेको बताउँदै नयाँ डोेमेस्टिक एयरपोर्ट बनेपछि सहज हुने बताए । ’दैनिक ४ सयभन्दा बढी उडान हुने गरेको छ, तीमध्ये ८० ओटा अन्तर्राष्ट्रिय उडान हुन्छन् भने ३ सय २० ओटा आन्तरिक उडान हुने गरेको छन्’ महाप्रबन्धक क्षेत्रीले भने, ‘साना क्षमताका जहाजहरु र हेलिकप्टरलाई मात्र काभ्रेमा सिफ्ट गर्न सके एयर ट्राफिक जाम कम हुन्छ ।‘