नारायणगढ-मुग्लिन सडकको काम ३ किमी मात्र बाँकी

नारायणगढ मुग्लिन सडक निर्माणको काम आगामी असारभित्र सकिने भएको छ । सडकको तीनवटै खण्डमा निर्माणको काम तीव्र रुपमा भइरहेको नारायणढ मुग्लिन सडक खण्ड आयोजनाले जानकारी दिएको छ । आयोजनाले जनाएको छ । अहिलेसम्म झन्डै ९० प्रतिशत सम्पन्न भएको छ ।

हालसम्म तीनवटै खण्डको ३३ दशमलव २ किलोमिटर सडकमध्ये झन्डै ३०किमी सडक निर्माण भइसकेको आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले क्यापिटल नेपाललाई जानकारी दिए । उनले तीनवटै खण्डमा गरी ३ किलोमिटर सडक निर्माणको काम बाँकी रहेको र काम तीव्र गतिमा भइरहेको बताए । ‘तीनवटै खण्डमा गरी ३ किमी सडक निर्माण बाँकी छ,’ उनले भने, । ‘आगामी असारभित्र सक्ने गरी काम अगाडी बढाएका छौँ ।’

उनका अनुसार सडकको पहिलो खण्डमा ७ सय मिटर, दोस्रो खण्डमा ४ सय मिटर र तेस्रो खण्डमा २ किमी सडक निर्माण गर्न बाँकी रहेको छ । पहिलो र दोस्रो खण्डमा पिँच गर्ने काम भइरहेको छ । त्यस्तैगरी नाली खन्ने काम, सेन्टर लाइन बनाउने, पहिरो गएको जमिनमा कल्र्भट हाल्ने काम भइरहेको छ ।

बर्षाका कारणले ठाउँ ठाउँमा गएको पहिरो चिन्ने काम भइरहेको छ । निर्माण गरिएको सडकमा पहिरो गएपछि काम गर्ने समय र लागत बढेको खनालले बताए । ‘पहिरो कारण सडक भाँसिदा र पुरिँदा समस्या भएको छ । जस्का कारणले लागत ३० करोड बढेको छ ,’ उनले भने ।

आयोजना निमित्त प्रमुख खनालका अनुसार २ अर्ब ९० करोड सुरुवाती लागत स्टिमेट भएपनि ३० करोड बढेर ३ अर्ब २० करोड लागत पुग्न देखिएको बताए । आयोजनाका अनुसार सडक खण्ड निर्माणका लागि झन्डै १ अर्ब रुपैँया रुपैयाँ खर्च भइसकेको छ ।

तुलनात्मक रुपमा सडकको तेस्रो खण्ड जटिल भएकाले काम बाँकी रहेको आयोजना इन्जिनियर शिव खनालले बताए । ‘पहिलो र दोस्रो खण्डको तुलनामा तेस्रो खण्डको काम बढि जटिल भएकाले बाँकी छ’ उनले भने, ‘असारभित्र सम्पूर्ण काम सक्नेगरी काम भइरहेको छ ।’ उक्त सडक निर्माणका लागि आर्थिक बर्ष २०७४÷०७५ मा २ अर्ब ३३ विनियोजन भएको छ, भने ३३ करोड पुल निर्माणका लागि छुट्याइएको छ ।