काे बन्ला नबिलकाे सीईओ ?

कार्यकाल बाँकी छँदै सीईओले बैङ्क छाड्ने क्रम रोकिएन । नबिल बैङ्कमा डेढ वर्ष कार्यकाल बाँकी छँदै शशिन जोशीले राजीनामा दिएका छन् । २०७२ असारमा ४ वर्षका लागि नियुक्त भएका जोशी नेपाली बैङ्किङ क्षेत्रमा वरिष्ठ बैङ्करका रूपमा चिनिन्छन् । ३४ वर्षअघि नबिल (तत्कालीन नेपाल अरब बैङ्क)बाट करिअर सुरु गरेका जोशीले सीईओ पदबाट दिएको राजीनामा सोमबार नै सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैङ्कको सञ्चालक समितिले ५ फगुनबाट लागू हुने गरी जोशीको राजीनामा स्वीकृत गरेको बैङ्कले जानकारी दिएको छ ।

यससँगै नबिलमा अर्का बैङ्कर उपेन्द्रप्रसाद पौड्याल भने सञ्चालकका रूपमा भित्रिएका छन् । विनोद चौधरीको कम्पनी एनबी इन्टरनेसनलका तर्फबाट पौड्याल सञ्चालक चुनिएका हुन् । यसअघिका सञ्चालक कृष्णप्रसाद शर्माको ठाउँमा पौड्याललाई ल्याइएको बैङ्कले जानकारी दिएको छ । पौड्यालले सोमबार नै बैङ्कमा शपथ ग्रहण गरिसकेका छन् । एनएमबी बैङ्कमा झन्डै दुई दशक व्यवस्थापकीय नेतृत्व सम्हालेका पौड्याल नबिलमा अबको ४ वर्ष सञ्चालकको भूमिका रहनेछन् । उनले करीब ९ महिनाअघि मात्रै आफ्नो १७ वर्ष लामो सीईओको कार्यकालबाट विश्राम लिएका थिए । ‘भूमिका परिवर्तन भएको छ, यसलाई राम्रोसँग पूरा गर्छु,’ उनले भने ।

नबिलमा नयाँ सीईओ को हुने भन्नेमा चाहिँ छलफल सुरु भइनसकेको बैङ्कका सञ्चालकहरुले बताएका छन् । पुराना सीईओमध्येबाट छानियो भने बैङ्क अफ काठमान्डूबाट बाहिरिएका अजय श्रेष्ठ वा सिभिल बैङ्क छाडेर खाली बसेका किशोर महर्जनले जोशीको विकल्प दिन सक्छन् । हालसालै ग्लोबल आईएमई बैङ्क छाडेका अनिल ज्ञवालीको नबिलमा पुनरागमन हुने सम्भावना पनि छ । ज्ञवालीले छाडेपछि नै जोशीले एनआईसी एसिया छाडेर दोस्रो पटक नबिल प्रवेश गरेका थिए । तर नबिल भित्रिएदेखि नै जोशी सार्वजनिक रूपमा ‘एक्सपोज’ हुन चाहेनन् ।

अनलराज भट्टराई, तुलसीराम गौतमलगायत बैङ्कर पनि अहिले खाली नै छन् । त्यसो त जनता बैङ्कले परामर्शदाताका रूपमा भित्र्याएको परशुराम कुँवरलाई नै पछि सीईओ बनाएको छ । त्यस्तै घटना दोहोरियो भने अहिले सञ्चालक बनेका पौड्याल नै व्यवस्थापन सम्हाल्न जान सक्छन् ।
बैङ्कले संस्थाभित्रैबाट सीईओ बनाउने अवस्थामा भने विनयकुमार रेग्मीले अवसर पाउन सक्छन् । उनी अहिले प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गरिरहेका छन् । कृष्णदत्त भट्टराई र अनिलकुमार खनाल पनि रेग्मीको प्रतिस्पर्धी बन्न सक्छन् ।

सिद्धार्थको सञ्चालकमा पालिखे
सिद्धार्थ बैंकको नयाँ सञ्चालकमा दिनेश शङ्कर पालिखे चुनिएका छन् । रिनिवल इन्भेष्टमेन्ट प्रालिको तर्फबाट उनी बैंकमा सञ्चालक बनेका हुन् । उनी यसअघिका सञ्चालक हेमन्त ज्ञवालीको स्थानमा चुनिएको बैंकले जनाएको छ ।