छ महिनामा ४ अर्ब २४ करोडको दूरसञ्चार उपकरण भित्रियो

चालू आर्थिक वर्षको ६ महिनामा ती छ कम्पनीले ४ अर्ब २४ करोड ८० लाख ८९ हजार दुई सय ९३ रुपैयाँ बराबरका दूरसञ्चार उपकरण नेपाल भित्र्याउन नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग स्वीकृति मागेका थिए ।

नेपालका विभिन्न छ ओटा दूरसञ्चार कम्पनीले आफ्नो क्षमता विस्तार तथा पूर्वाधार निर्माणका लागि ६ महिनामा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ खर्चेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा ती छ कम्पनीले ४ अर्ब २४ करोड ८० लाख ८९ हजार दुई सय ९३ रुपैयाँ बराबरका दूरसञ्चार उपकरण नेपाल भित्र्याउन नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग स्वीकृति मागेका थिए । प्राधिकरणले छ महिनाको अवधिमा ती छ कम्पनीलाई सो रकम बराबरको उपकरण भित्र्याउन स्वीकृति दिएको हो ।

आर्थिक वर्षको पुस महिनासम्ममा छ सेवाप्रदायक कम्पनीमध्ये एनसेलले सबैभन्दा बढी रकमको दूरसञ्चार उपकरण भित्र्याउन स्वीकृति लिएको छ । एनसेलले २ अर्ब ४८ करोड ८६ लाख २० हजार तीन सय ५४ रुपैयाँको उपकरण खरिद गर्न स्वीकृति मागेको छ । यसैगरी सोही अवधिमा सबैभन्दा थोरै रकमको दूरसञ्चार उपकरण भित्र्याउने कम्पनी मर्कन्टायल कम्युनिकेसन हो । उसले एक करोड ४१ लाख ९८ हजार चार सय रुपैयाँको दूरसञ्चार उपकरण भित्र्याउन स्वीकृति मागेको छ ।

स्मार्ट टेलिकमले चालू आवको ६ महिनामा एक अर्ब १७ करोड २९ लाख ५० हजार दुई सय ८० रुपैयाँको दूरसञ्चार उपकरण खरिदका लागि प्राधिकरणसँग स्वीकृति मागेको थियो ।

प्राधिकरणका सहायक निर्देशक झलक थापामगरका अनुसार दूरसञ्चार उपकरण भित्र्याउने छ कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पुस महिनासम्म ५४ करोड ४६ लाख ७५ हजार ६१ रुपैयाँको उपकरण खरिद गरेको छ । त्यस्तै कन्स्टिलेसन प्रालिले ३५ लाख ९५ हजार ६६ तथा वल्र्ड लिङ्क कम्युनिकेसनले दुई करोड तीन लाख ४९ हजार ३६ रुपैयाँ बराबरको दूरसञ्चार उपकरण खरिदका लागि स्वीकृति मागेको सहायक निर्देशक थापाले जानकारी दिए ।

व्यक्तिगत रुपमा एसआईटीएका प्रतिनिधि रबिन श्रेष्ठले ११ हजार पाँच सय ५० रुपैयाँको उपकरण खरिद गरेको प्राधिकरणले जनाएको छ ।