एक वर्षभित्र नेपाल टेलिकमको फोरजी सेवा देशका सात ओटै प्रदेशमा सञ्चालनमा आउने भएको छ । अहिले टेलिकमको फोरजी सेवा नेपालका दुई सहर काठमाडौं उपत्यका र पोखरामा मात्रै छ । अब टेलिकमले देशभर फोरजी सेवा सञ्चालन सुरु गर्ने भएको हो । देशका विकट तथा यातायातका साधन नपुगेका दुर्गम क्षेत्रहरुमा पनि टेलिकमले फोरजी सेवा विस्तार क्रममा रहेको टेलिकमकी प्रवक्ता प्रक्तिमा वैद्यले जानकारी दिइन् ।
लामो समयदेखि ढिलाइ भइरहेको फोरजी सेवाअन्तर्गतको टेन्डर मूल्याङ्कन प्रक्रिया अन्तिम चरणमा रहेकोसमेत उनले बताइन् । ‘टेलिकमको टेन्डर मूल्याङ्कन अन्तिम चरणमा छ । अब प्रकाशन गर्नेमा थोरै समय लाग्छ,’ उनले भनिन् । नेपालमा फोरजी विस्तारमा ढिलाइ नभई अब धमाधम काम हुने उनको भनाइ छ ।
एक वर्षभित्र सातै प्रदेशमा फोरजी सेवा पु¥याउने गरी प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । टेण्डर र कम्पनी मूल्याङ्कनको कामका लागि अब धेरै समय नलाग्ने र काम अन्तिम चरणमा रहेकाले टेलिकमको फोरजी विस्तारका एक वर्षको समय राखिएको उनले बताइन् ।
फोरजी सेवामार्फत मोबाइल वेब एक्सेस, गेमिङ, एचडी (हाई डेफिनेसन) मोबाइल टीभी, थ्रीडी टेलिभिजनलगायतका विभिन्न सुविधा लिन सकिने टेलिकमले जानकारी दिएको छ । दूरसञ्चार प्रधिकरणको पछिल्लो एमआईएस रिपोर्टका अनुसार टेलिकमका फोरजी सेवा प्रयोग गर्नेको सङ्ख्या पाँच लाख ४७ हजार पाँच सय आठ पुगेको छ ।