एफ फाइभ रुट करिब ९ किलोमटर दूरीको छ । यहाँ अहिले ६६ ओटा सफा टेम्पो र साना माइक्रो सञ्चालनमा छन् ।
उपत्यकाका एफफाइभ रुट (नयाँ बसपार्क, सिनामङ्गल र रत्नपार्क)मा १७ नयाँ सुविधायुक्त बस सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न एफ फाइभमा नयाँ वर्षसम्म १७ सुविधायुक्त बस सञ्चालनमा ल्याउने भनिएको थियो । तर हालसम्म पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।
यातायात व्यवस्था विभाग र दिगो विकास सहरी आयोजनाको सहकार्यमा ती रुटमा सुविधायुक्त बस सञ्चालनमा ल्याउने तयारी भए पनि अहिलेसम्म ६ ओटा बस मात्र ल्याइएको छ । ‘एस फाइभ रुटअन्तर्गत नयाँ बसपार्क, गोङ्गबु, लैनचौर, रत्नपार्क, मैतीदेवी, पुरानो बानेश्वर हुँदै सिनामङ्गल रुटमा सञ्चालन गर्न १७ ठूला बस ल्याउने भनिएको थियो । अहिलेसम्म ६ ओटा टाटाका बस आएका छन्,‘ यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले भने ।
बस निर्माता कम्पनीले नै ढिलाइ गरिदिएकाले सञ्चालनमा ल्याउन नसकेको हुन सक्ने उनले बताए । अहिलेसम्म आएका ६ ओटा बस सञ्चालनमा ल्याउने अथवा सबै बस आएपछि मात्र सञ्चालनमा ल्याउने भन्ने विषय छलफलको क्रममै रहेको उनको भनाइ छ । एफ फाइभ रुट करिब ९ किलोमटर दूरीको छ । यहाँ अहिले ६६ ओटा सफा टेम्पो र साना माइक्रो सञ्चालनमा छन् ।
वैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने १७ ठूला बस जेठको आधाआधीमा पनि नआउँदा अन्योल बढेको हो । उक्त रुटमा चल्ने १७ ठूला बस खरिदका लागि टाटा मोटर्ससँग सम्झौता भएको दुई महिना बितिसकेको छ । त्यसमध्ये अहिलेसम्म ६ ओटा बस मात्र नेपाल आएका छन् । अन्य ११ ओटा बस आउने क्रममा रहेको यातायात व्यवस्था विभागका कर्मचारी बताउँछन् । दिगो सहरी विकास आयोजनाले पनि गत चैतमै बस भित्रिइसक्ने जानकारी दिएको थियो ।
दिगो सहरी यातायात आयोजनाले उक्त रुटमा सञ्चालन हुँदै आएका माइक्रो र सफा टेम्पो परिवहनसँग सम्झौता गरेको पनि महिनौं भइसकेको छ । यातायात व्यवस्था विभाग र दिगो सहरी यातायात आयोजनाको सहकार्यमा उक्त रुट सञ्चालनमा रहेका माइक्रो तथा टेम्पो तत्कालका राजधानीका उपयुक्त अर्को रुटमा स्थानान्तरण गरिने भनिएको थियो । त्योे निर्णय कार्यान्वयनय पनि हुन नसकेको सेवाग्राहीहरुको आरोप छ ।
विभागले एफ फाइभ रुट कार्यान्वयनमा ल्याएपछि बिस्तारै अन्य रुटमा पनि ‘मास ट्रान्सपोटेसन’को अवधारणा कार्यान्वयनमा ल्याउने योजना बनाएको थियो । तर भैतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई श्रम मन्त्रालयमा सरुवा गराएपछि उक्त यातायात क्षेत्रका योजनालगायत काम अस्तव्यस्त छन् । अहिले यातायात क्षेत्रको अवस्था पनि नाजुक बन्दै गएको छ ।
एस फाइभ रुटमा धेरै अघिदेखि ठूला गाडी मात्रै सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर त्यस क्षेत्रका स्थानीय व्यवसायीले यातायात व्यवस्था विभागको निर्णयको विरोध गर्दै आएका थिए ।
तर व्यवसायीको आन्दोलनलाई दृष्टिगत गरी सरकारले प्रोत्साहनस्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलियत ऋण दिने निर्णय गरेपछि व्यवसायी सहमत भएका थिए । बस खरिद गर्न नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास बैङ्क (एडीबी)ले १५ प्रतिशत अनुदान र ५ प्रतिशत काठमाडौं दिगो सहरी यातायात आयोजनाले लगानी गर्ने भएका थिए । अहिले उक्त रुटमा चल्ने बस दिगो विकास यातायात प्रालि कम्पनीमा आधारित भएर सञ्चालन गर्न लागिएको विभागका प्रवक्ता अर्यालले जानकारी दिए ।