बजेटमा अप्टिकल फाइवर विच्छयाउने कार्यलाई विशेष जोड

सरकारले अप्टिकल फाइवर विच्छयाउने कार्यलाई विशेष प्राथामिकता दिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विज्ञान तथा प्रविधिमा ठूलो रकम छुट्याएसँगै सरकारले अप्टिकल फाइबर विच्छयाउने कार्यलाई बिशेष जोड दिएको हो ।

डेढ बर्ष अघिनै नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम परिचालन गर्दै अप्टिकल फाइबर विच्छाउने कार्य तीन सेवा प्रदायक कम्पनी नेपाल दुरसञ्चार कम्पनी, यूनाइटेड टेलिकम, र स्मार्ट टेलिकमलाई जिम्मा दिएको थियो । प्रस्तुत बजेट अनुसार शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधितर्फ सरकारले आगामी वर्षमा वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी देशलाई आधुनिक बनाउनेतर्फ कार्य गर्ने बताएको छ । विज्ञान तथा प्रविधि विषयमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्र विकास गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापन गरिने समेत बताएको छ ।
सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न सूचना प्रविधिमैत्री शिक्षा उपलब्ध गराउने जनाएको छ । त्यसका लागि यसअघि दूरसञ्चार प्राधिकरणले सुरु गरेको स्थानीयस्तरका विद्यालय तथा स्वास्थ्य केन्द्रमा इन्टरनेट पुर्याई दुई वर्षका लागि निःशुल्क इन्टरनेट प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री खतिवडाले आमसञ्चार माध्यमलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाउनुका साथै पत्रकार दुर्घटना बिमा र पत्रकार वृत्तिकोषलाई हित र कल्याणमा परिचालन गर्ने व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्थाको रूपमा सञ्चालन गरिने बजेटमा उल्लेख छ । साथै आगामी पाँच बर्षभित्र नेपाली पत्रकारितामा गुणस्तरीय, व्यावसायिक र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षासहितको आधुनिक भवन निर्माणलाई तीब्रता दिइने बताएका छन् । त्यस्तै मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई कम्पनीमा रुपान्तरण गरी उच्च सुरक्षायुक्त र गुणस्तरीय रूपमा छपाई कार्यका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ६५ करोड छुट्याइएको खतिवडाले बताए ।