गुणस्तरीय विद्युत् आपूर्ति गर्न बर्खायाममा रेडियल वितरण प्रणाली

रेडियल वितरण प्रणाली भनेको कुनै एक ग्राहकको घरमा दुई सर्किटबाट लाइन जाने र कुनै कारणले एक सर्किटमा समस्या आएर विद्युत् अवरुद्ध हुँदा अर्कोबाट लाइन पास गर्न सकिने सिस्टम हो ।

नेपाल विद्युत् प्राधिकरणले नियमित रुपमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न बर्खायाममा डबल सर्किट लाइन (रेडियल)बाट वितरण प्रणाली अगाडि बढाउने भएको छ । बर्खायाममा हुने हुरीबतासका कारण पोल ढल्ने, विद्युत् सामग्री जल्ने, पड्किएर विद्युत् अवरुद्ध हुने समस्यालाई दृष्टिगत गरी हरेक ग्राहकको घरम डबल सर्किट लाइनमार्फत विद्युत् वितरण गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

‘डबल सर्किटबाट लाइन दिने गरी अघि बढिरहेका छौं । यसले एउटा लाइन सर्किटमा कुनै कारणले विद्युत् अवरुद्ध भएको बेला अर्को सर्किटबाट लाइन अन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसबाहेक ठूलो सङ्ख्यामा वितरण ट्रान्सफर्मर थप्ने, भइरहेका ट्रान्सफर्मर र सबस्टेसनलाई सुदृढीकरण तथा ठूला कन्डक्टर थप्ने काम भइरहेको छ ।’

रेडियल वितरण प्रणाली भनेको कुनै एक ग्राहकको घरमा दुई सर्किटबाट लाइन जाने र कुनै कारणले एक सर्किटमा समस्या आएर विद्युत् अवरुद्ध हुँदा अर्कोबाट लाइन पास गर्न सकिने सिस्टम हो । हाल ओभरहेड वितरण प्रणाली भएकाले पनि बर्खायाममा समस्या हुने गरेकाले प्राधिकरणले त्यस्का लागि ¥यापिड याक्सन गु्रपलाई चुस्त बनाइने अधिकारीले बताए । रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रहरुमा अन्डरग्राउन्ड वितरण प्रणाली लागू गर्न टेन्डर आह्वान गरी मूल्याङ्कनको चरण गइरहेको र त्यो कार्यान्वयनमा आएपछि अन्य क्षेत्रमा पनि अन्डरग्राउन्ड वितरण प्रणाली बनाइने प्रवक्ता अधिकारीको भनाइ छ । विद्युत् वितरणलाई अधिकतम ग्राहकमैत्री बनाउन जोड दिइएको प्राधिकरणले जनाएको छ ।

बर्खायाम र जुनसुकै बेला विद्युत् अवरोध हुने समस्याको दीर्घकालीन समाधानका लागि प्राधिकरणले डबल सर्किट लाइन वितरण प्रणालीमा लगानी गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेले बताए । ‘बर्खा होस् या जुनसुकै बेला पनि विद्युत्मा समस्या देखिन सक्ने भएकाले वितरण स्टेबल पार्न रेडियल सिस्टममा लगानी गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि वितरण ट्रान्सफर्मर थप्ने र अन्डरग्राउन्ड वितरण लागू गर्नु आवश्यक छ ।’ हरेक बर्ष बर्खायाम सुरु भएसँगै मुलुकभर विद्युत् आपूर्तिमा समस्या हुने गरेको उपभोक्ताको गुनासो छ ।