एक वर्षभित्र ८ लाख स्मार्ट मिटर जडान गर्ने तयारी

एक दुई महिनामै एक लाख स्मार्ट मिटरका लागि टेन्डर भर्इ खरिद प्रक्रियामा जाने र त्यसपछि थप ७ लाख स्मार्ट मिटरका लागि टेन्डर आह्वान गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । केही दिनअघि ऊर्जामन्त्री वर्षमान पुन एक कार्यक्रममा छिट्टै विद्युत् वितरण प्रणालीलाई आधुनिकीकरण बनाउन स्मार्ट मिटर तथा स्मार्ट ग्रीड प्रणाली लागू गर्ने बताएका थिए ।

आगामी एक वर्षभित्र ८ लाख स्मार्ट मिटर जडान गरिने भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न भएपछि उत्पादित विद्युतको उपयोग र खपत स्वदेशमै गर्न स्मार्ट मिटर जडान गर्न लागिएको हो ।

एक दुई महिनामै एक लाख स्मार्ट मिटरका लागि टेन्डर भर्इ खरिद प्रक्रियामा जाने र त्यसपछि थप ७ लाख स्मार्ट मिटरका लागि टेन्डर आह्वान गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । केही दिनअघि ऊर्जामन्त्री वर्षमान पुन एक कार्यक्रममा छिट्टै विद्युत् वितरण प्रणालीलाई आधुनिकीकरण बनाउन स्मार्ट मिटर तथा स्मार्ट ग्रीड प्रणाली लागू गर्ने बताएका थिए ।

एक वर्षभित्र माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट एक हजार मेगावाट विद्युत् उत्पादन हुने र त्यसको खपत गर्न स्मार्ट मिटर तथा स्मार्ट ग्रीड प्रणाली लागू गर्न लागिएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरे जानकारी दिए । उनले स्मार्ट मिटर प्रणाली यसै वर्षदेखि लागू हुने बताए ।

स्मार्ट मिटर जडान गरेपछि विद्युत् पिक आवरका आधारमा ग्राहकले विद्युत् महसुल तिर्ने गर्छन् । खासगरी बिहान र बेलुकाको पिक टाइममा बढी लोड चाहिने भएकाले बढी महसुल दर र रात्री समय र दिउँसोमा कम महसुलमा विद्युत् उपयोग हुने गरी आधुनिक स्मार्ट मिटर जडान गरिने छ । विद्युत उपयोग आवरका आधारमा महसुल तिर्दा ग्राहकलाई सुविधा हुनुका साथै विद्युत् खपत गर्न सकिन्छ ।

ऊर्जामन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५/०७६ को भावी मार्गचित्र (श्वेतपत्र) मा उत्पादित विद्युतको खपत गर्न वितरण प्रणालीलाई आधुनिकीकरण गर्न स्मार्ट मिटर तथा स्मार्ट ग्रीड प्रणाली लागू गरिने उल्लेख छ ।

आगामी एक वर्षभित्र माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि त्यसको खपत स्वदेशमै गर्ने र भारतबाट आयात भएको ४ सय ७० मेगावाट विद्युत् प्रतिस्थापन गर्न आधुनिक वितरण प्रणाली लागू गर्ने मन्त्रालयले जनाएको छ । सरकारले आगामी ३ वर्षमा तीन हजार ५ वर्षमा पाँच हजार र १० वर्षमा स्वदेशमै खपत गर्न १० हजार सहित कुल १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

विद्युतको प्रभावकारी खपत गर्ने आधुनिक प्रणाली स्मार्ट मिटर र स्मार्ट ग्रीड प्रणाली रहेकाले सरकारले लागू गर्ने यो प्रणाली सकारात्मक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए । उनले टाइम अफ डे (टीओडी) प्रणालीअनुसार पिक आवरका आधारमा विद्युत् उपयोगको महसुल तिर्दा ग्राहक मारमा नपर्ने, विद्युत् चोरी, जालसाजी गर्न नसक्ने र सबै किसिमले प्रभावकारी हुने उनको भनाइ छ । स्मार्ट मिटर जोड्ने लक्ष्य लिएको कदम स्वागतयोग्य छ उनले भने ।