कहिले कार्यान्वयनमा आउँछ फुटपाथका पसल हटाउने निर्णय ?

अहिले उनीहरुको जीविकोपार्जन गर्ने उपाए भनेकै फुटपाथ रहेको भन्दै उनले यो कार्यलाई तत्काल कार्यन्वयनमा आउन केही समय लागेकाे बताए । अहिले नगरप्रहरीको ड्युटी समय साढे पाँच बजेसम्म रहेकोमा अबको कार्ययोजनामा अनुगमनका लागि नगरप्रहरीलाई चौबीसै घण्टा ड्युटीमा खटाइँदै छ ।

सहरलाई नै कुरुप बनाइरहेको फुटपाथ पसललाई काठमाडौं महानगरपालिकाले अहिलेसम्म हटाउन सकेको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएर आएपछिको दोस्रो मन्त्रिपरिषद् बैठकले समेत काठमाडौंको फुटपाथ हटाउन ट्राफिक प्रहरीको सहायता लिने र हटाउने जिम्मा महानगरलाई दिने निर्णय गरेको थियो । तर, अहिलेसम्म सहरलाई नै कुरुप बनाउने फुटपाथ व्यवस्थित गर्न महानगर असफल देखिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपत्यकामा रहेको फुटपाथ पसललाई विस्थापन गर्ने निर्णय कार्यन्वयनमा ल्याउन नसकेको स्वीकार गरे । ‘महानगरमा रहेका फुटपाथलाई हटाउने कार्य अहिले पनि जारी छ,’ उनले भने, ‘तर, प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।’ महानगरका प्रहरीले फुटपाथमा राखेको पसललाई हटाउन लागिपरेको शाक्यले बताए ।

उपत्यकाको सडकपेटीमा यात्रा गर्नै नमिल्ने गरी पसल राख्ने व्यापारीमाथि सरकारले तत्काल कडा कारबाही गर्ने भने पनि कुनै पनि प्रक्रिया अघि बढेको छैन । काठमाडौं महानगरपालिकका सहसचिव राजेश्वर ज्ञवाली फुटपाथलाई व्यवस्थापन गर्न नयाँ आर्थिक वर्षदेखि नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताउँछन् ।

उनका अनुसार अहिले उनीहरुको जीविकोपार्जन गर्ने उपाए भनेकै फुटपाथ रहेको भन्दै उनले यो कार्यलाई तत्काल कार्यन्वयनमा आउन केही समय लाग्ने जनाए । अहिले नगरप्रहरीको ड्युटी समय साढे पाँच बजेसम्म रहेकोमा अबको कार्ययोजनामा अनुगमनका लागि नगरप्रहरीलाई चौबीसै घण्टा ड्युटीमा खटाइने उनको भनाई छ ।

पैदलयात्रुलाई हिँड्ने ठाउँनै नराखी पसल थाप्दा ट्राफिक जामको समस्या मात्रै नभई पैदलयात्रु पनि असुरक्षित हुने भएकाले सरकारले यस्तो कदम चालेको हो । काठमाडौंको सुन्धारा, कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, जमल, आरएनएसी, न्युरोड, नयाँ बसपार्कलगायतका सडकपेटीमाथि कब्जा जमाएर व्यवसाय गर्दा पैदलयात्रुलाई यात्रा गर्न समस्या बनेको यात्रुहरु बताउँछन् ।

गत असारमा काठमाडौं महानगरपालिका मेयर शाक्यले दुई महिनाभित्र फुटपाथ पसल हटाई सडक खाली गर्न निर्देशन दिएका थिए । तर मेयरले निर्देशन दिएको एक वर्ष पुग्न लाग्दा पनि कुनै पनि काम हुन सकेको छैन भने त्यसका लागि महानगरपालिकाबाट फुटपाथ हटाउन १ सय प्रहरीलाई तालिम समेत दिएको थियो ।