नयाँ एसएसपी आएपछि रोकियो ट्याक्सी बिल प्रिन्टिङ सिस्टम अनुगमन

अहिले उपत्यकामा १० हजार पाँच सय ट्याक्सी छन् । तीमध्ये आठ हजार तीन सय ट्याक्सीमा बिलिङ प्रिन्टिङ मेसिन जडान गरिसकिएको छ ।

महानगरीय ट्राफिक व्यवस्थापन महाशाखामा नयाँ एसएसपी आएपछि ट्याक्सी बिल प्रिन्टिङ सिस्टम अनुगमन कार्य रोकिएको छ । डेढ वर्षअघिबाट सञ्चालनमा भएको बिल प्रिन्टिङ सिस्टमको केही समय अनुगमन भए पनि केही हप्ताअघि देखि ट्याक्सी बिल प्रिन्टिङ सिस्टम रोकिएको हो । गत दुई साताअघि एसएसपीको पदमा वसन्त पन्त महानगरीय ट्राफिक व्यवस्थापन महाशाखामा नियुक्त भएका थिए । उनी एसएसपी पदमा नियुक्त भएपश्चात् उपत्यकामा उक्त ट्याक्सी बिल प्रिन्टिङ प्रणाली रोकिएको गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

उनका अनुसार गत दुई हप्तादेखि उक्त अनुगमन नभएको बताए । उपभोक्ताको सेवा तथा  सुविधाका लागि ट्याक्सीमा बिलिङ प्रणालीमा जडान गरिएको उनको भनाइ छ । ‘हाल विभागमा दक्ष कामदारको अभाव छ,’ उनले भने । विभागले सबै क्षेत्रमा अनुगमन गर्नुपर्ने र तीन जना मात्रै कर्मचारी भएकाले पनि अनुगमन फितलो भएको उनले जानकारी दिए । ‘हामीलाई अहिले ट्राफिक महाशाखाले पनि चासो दिएको छैन,’ उनले भने ।

अहिले उपत्यकामा १० हजार पाँच सय ट्याक्सी छन् । तीमध्ये आठ हजार तीन सय ट्याक्सीमा बिलिङ प्रिन्टिङ मेसिन जडान गरिसकिएको पुडासैनीले बताए । आगामी आर्थिक वर्षबाट नयाँ कार्ययोजना तयार गरी उपत्यकामा ट्याक्सी बिल प्रिन्ट प्रणालीलगायत अन्य सेवासुविधालाई कडाइका साथ निरन्तरता दिने उनको भनाइ छ ।

हाल उपत्यकामा चल्ने ट्याक्सीले कुनै पनि बिल नदिने तथा मिटरमा जान नमानिरहेको सेवाग्राहीको गुनासो छ । ‘आपत्कालीन अवस्थामा त झन् मौकाको फाइदा उठाउन खोज्छन् ट्याक्सी चालक’, एक सेवाग्राहीले भने ।

महानगरीय ट्राफिक व्यवस्थापन माहशाखाका एसएसपी पन्तले पनि ट्याक्सी बिल पिन्ट सिस्टमलाई ध्यान दिन नसकेको बताए । अहिले विभागका कर्मचारी सरुवा भएको र त्यसैले नयाँ कर्मचारीसँग समन्वय हुन नसकेको पन्तको भनाइ छ ।