विश्वकप फुटबल सुरू हुने दिन नजिकिँदै गर्दा नेपालमा नयाँ टीभी किन्नेकाे घुइँचाे लागेकाे छ । सामसुङ, हिमस्टार, साेनी, फिलिप्स, एलजी, सीजीलगायत ब्रान्डका टीभी किन्नेकाे भीड लागेकाे छ । व्यवसायीका लागि पनि विश्वकप फुटबल हुनु भनेकाे व्यापारलार्इ थप २० प्रतिशत बढाउने अवसर अाउनु हाे ।
आगामी जेठ ३१ बाट विश्वकप फुटबल सुरु हुने खेल तालिका सार्वजनिक भएसँगै नेपालमा टेलिभिजनको व्यापारले बजार तताइरहेको छ । बजारमा सानादेखि ठूला टेलिभिजन व्यवसायी यतिबेला टेलिभिजन बिक्रीको चटारोमा व्यस्त छन् भने उपभोक्ता पनि टेलिभिजन खरिद गर्न आतुर छन् । हरेक नेपालीलाई विश्वकप लागिसकेकाे छ ।
त्यसैगरी, नेपालका सानादेखि ठूला कम्पनीहरु टेलिभिजन बिक्री गर्नेमै व्यस्त देखिन्छन् । अहिले बजारमा कम्पनीबीच कसले कति छुटमा टेलिभिजन बिक्री गर्ने भन्नेमा प्रतिस्पर्धा गरेको देखिन्छ । विश्वकप नजिकिँदै गर्दा कम्पनीले टेलिभिजनमा विभिन्न अफर ल्याएका छन् । विश्वकप आउन एक हप्ता मात्र बाँकी छ । विश्वकपको रौनकले बजारमा टेलिभिजन व्यापार मौलाएको छ । विश्वकपको अवसर पारेर टेलिभजन किन्ने उपभोक्ताहरु बढेको व्यवसायीहरुको भनाइ छ ।
नेपालमा नाम चलेका ब्रान्डेड टीभीदेखि चिनियाँ कम्पनीका सस्ता टेलिभिजन किन्ने उपभोक्ता पछिल्ला केही दिनयता बढेको टीभी विक्रेताहरु बताउँछन् । ’त्यसैले दर्शकको मात्रै होइन, विश्वकप महाकुम्भमेला व्यवसायीको पनि भनिएको हो’ सामसुङ ब्रान्ड नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सका सेल्स म्यानेजर गणेश पाण्डे भन्छन् ।
’विश्वकपको मौका पारेर टीभी किन्नेहरु बढेका छन् । अहिले हामीलाई विभिन्न ठाउँबाट अर्डर गर्ने र सोरुममै आएर पनि खरिद गर्ने गरेका छन्’ उनले भने ।
हाल विश्वकपको ज्वरोले उपभोक्तालाई थप जोस भरिदिएको छ । ग्राहक अहिले साना एलर्इडी टेलिभिजनमा आखाँनै लगाउँदैनन् । पाण्डेका अनुसार हिम इलेक्ट्रोनिक्सले विश्वकपलाई दृष्टिगत गरी तीन प्रकारका अफर सार्वजनिक गरेको छ । पहिलो, क्यास ब्याक अफर जसमा ग्राहकले जुनसुकै टेलिभिजन खरिद गरे पनि २७ प्रतिशतसम्म छुट पाउने पाण्डेको भनाइ छ । अहिले ग्राहकको रोजाइमा ३२ इन्चभन्दा माथिकै टीभी रुचाएको उनको भनाइ छ ।
दोस्रो, विश्वकप लक्की ड्र अफर । जसअन्तर्गत ग्राहकले टेलिभिजन खरिद गरेका अवस्थामा लक्की ड्र अनुसार सानादेखि ठूला इलेक्ट्रिक सामग्री पाउने छन् । जसमा मोबाइल, ल्यापटप, फ्रिज, तथा अन्य उपयोगी समान पाउने सेल्स म्यानेजर पाण्डेका भनाई छ । र, तेस्रो चरणमा ग्राहकले टेलिभिजन खरिदमा लक्की ड्र मार्फत टर्किस एयेरलाइन्सको एउटा टिकेट पनि पाउने जानकारी दिए । लक्कीड्रमा पर्ने सफल ग्राहकले कम्पनीको नियमअनुसार केबीएच ग्रुपद्वारा कुनै एक होटल सेवा सुविधा लिनुपरे ५ प्रतिशतसम्म छुट पाउने पाण्डेले बताए ।
त्यस्तै कम्पनीले टेलिभिजन खरिद गर्ने ग्राहकको सेवाका लागि लक्की ड्र मार्फत बयोधा हस्पिटलमा पनि १५ प्रतिशत छुट सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै हिम इलेक्ट्रोनिक्स कम्पनीकै हिमस्टार नामक ब्रान्डको टेलिभिजन खरिदमा ग्राहकले १८ प्रतिशतसम्म छुट पाउन सक्ने पाण्डेले जानकारी दिए । १३ हजार पर्ने हिमस्टारको टेलिभिजनलाई विश्वकपको अफरमा ९ हजारमा दिएको उनले बताए । त्यस्तै ३१ हजार पर्ने ३२ इन्चको हिमस्टार टीभीलाई २४ हजारमा बिक्री गरिरहेको पाण्डेले बताए । उनले यो अफर विश्वकप चलुन्जेल जारी राखिने जनकारी दिए ।
त्यसैगरी एलजी, टीसीएल, सीजीका लागि नेपालको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले पनि छुटको प्याकेज ल्याएको छ । ‘इन्ज्वाय इस्टेडियम लाइक एक्सपेरियन्स विथ एक्साइटिङ् अफर’ भनेर चौधरी समूह अन्तर्गत एलजी ब्रान्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले फुटबल विश्वकपलाई ध्यानमा राखेर स्किम ल्याएको हो ।
ग्रुपले ३१ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ । सीजीले दुई लाखदेखि आठ लाखसम्मको टेलिभिजन खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक अफर दिएको जमलस्थित सीजी सोरुमका म्यानेजर पुरन श्रेष्ठले जानकारी दिए ।
अफरकै क्रममा विश्वकपलाई दृष्टिगत गरी फिलिप्स ब्रान्डले ५ प्रतिशत छुटसहित एक्सचेन्ज अफर समेत ल्याएको स्याकार कम्पनी फिलिप्स सोरुमका सेल्स म्यानेजर राजन खड्काले जानकारी दिए । खड्काका अनुसार कम्पनीले ३५ हजार देखि दुईलाखसम्मका फिलिप्स ब्रान्डका टेलिभिजनमा छुट दिइएको जानकारी दिए ।
त्यसैगरी सोनी टेलिभिजनको आधिकारिक वितरक नेपाहिमा ट्रेडलिङ्कले टेलिभिजन खरिद गरेबापत केही दिनपछि छुट सेवा उपलब्ध गराउने भएको छ । २० प्रतिशतसम्म क्यासब्याक अफर दिने कम्पनीका मार्केटिङ म्यानेजर सौरभ पन्तले जनाए । हाल कम्पनीले कुनै पनि अफर नदिएको र आगामी आइतबारदेखि देशैभर क्यासब्याक तथा अन्य अफर दिने जानकारी दिए । ’हामी यो हप्ताभरिमा के के छुट दिने भनेर योजना ल्याउँछौं ,’ उनले भने ।
ग्राहकहरुले २६ देखि ४० इन्चसम्मका एलसीडी र एलर्इडी टीभी बढी रुचाउने गरेको व्यवसायी बताउँछन् । हिम इलेक्ट्रोनिक्सका मार्केटिङ् म्यानेजर पाण्डे भन्छन, ’ग्राहकले उमेरअनुसार टीभी छनौट गरिरहेका छन् । युवा आए भने स्मार्ट टिभी किनेर लैजान्छन् तर अलि ‘एजेड’को रोजाइमा एलर्इडी मात्रै पर्छ ।’ विश्वकपको अवसरमा तीन गुणासम्म टीभीको व्यापार बढ्ने व्यवसायीहरुको अनुमान छ ।