मन्त्रालयले बिलको भुक्तानी नदिँदा हुलाकी राजमार्गको काम प्रभावित

लामो समयसम्म वित्तीय स्रोत अभाव गराएको प्रति आक्रोशित खरेलले काम नगर्ने ठेकेदारलाई भन्दा काम गर्नका लागि भुक्तानी नदिएर काम रोक्ने कर्मचारीलाई पक्राउ गर्नुपर्ने बताए ।

अर्थ मन्त्रालयले विगत ६ महिनादेखि बिलको भुक्तानी नदिँदा हुलाकी राजमार्गको काम प्रभावित हुँदै गएको छ । विगत ६ महिना अगाडि २ अर्ब रुपैयाँको बिल अर्थ मन्त्रालयमा पेस गरे पनि अझैसम्म भुक्तानी नदिइँदा काम प्रभावित हुँदै गएको आयोजनाले जनाएको छ ।

समयमै मन्त्रालयले भुक्तानी नदिँदा ठेकेदारहरुले काम गर्न सकेका नसकेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । उनले विभिन्न क्षेत्रमा भइरहेको सडक तथा पुल निर्माणका लागि गरी २ अर्ब रुपैयाँको बिल पेस गरेको ६ महिना हुँदासम्म पनि भुक्तानी नआएको बताए । ‘विभिन्न चरणमा हुने सडक तथा पुल निर्माणको बिल पेस गरेको ५/६ महिना भइसक्यो,’ उनले भने, ‘अर्थ मन्त्रालयमा पुगेर फाइल अड्कियो । भुक्तानी बिल आएको छैन ।’

लामो समयसम्म वित्तीय स्रोत अभाव गराएको प्रति आक्रोशित खरेलले काम नगर्ने ठेकेदारलाई भन्दा काम गर्नका लागि भुक्तानी नदिएर काम रोक्ने कर्मचारीलाई पक्राउ गर्नुपर्ने बताए । ‘सरकारी पैसा लिएर काम नगर्नेलाई थुन्नुपर्छ,’ उनले भने, ‘तर, यहाँ काम मात्रै भन्ने तर भुक्तानी नदिने प्रवृत्ति छ । समयमै बिल भुक्तानी नगर्ने त्यस्ता मन्त्रालयका कर्मचारीलाई पहिला थुन्नुपर्छ ।’

विभिन्न क्षेत्रमा सडक र पुल निर्माणका लागि समयमै भुक्तानी नहुनु मुख्य समस्या रहेको उनको तर्क छ । राष्ट्रिय गौरवको आयोजनालाई कुनै पनि वित्तिय स्रोतको अभाव हुन नदिने सरकारको लक्ष्य रहे पनि त्यसको कार्यान्वयन हुन नसकको आयोजनाका ठेकेदारहरुको भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजनालाई वित्तीय स्रोत अभाव हुन नदिने मन्त्रालयको उद्देश्य रहेको अर्थ मन्त्रालयका सुचना अधिकारी तथा प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘गौरवका आयोजनालाई स्रोत अभाव हुनु हुँदैन,’ उनले भने, ‘हुलाकी राजमार्गको विषय छ । बिल भुक्तानी सम्बन्धित निकायले दिनुपर्छ । यस विषयमा के भइरहेको बुझ्छु ।’

अहिले हुलाकी राजमार्गअन्तगत पूर्व—पश्चिम र उत्तर दक्षिण गरी कुल १ हजार ७ सय ९२ किलोमिटर सडक निर्माण गर्नुपर्छ । जसमध्ये ३ सय किलोमिटर भारतीय कम्पनीले निर्माण गरिरहेको छ । गत वर्षदेखि एक हजार किलोमिटर निर्माणको काम भइरहेको छ । हुलाकी राजमार्गमा एक सय ७० ओटा पुलहरु निर्माण गर्नुपर्छ ।

कामदार र इन्जिनियरको अभाव

हुलाकी राजमार्ग निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको अभाव देखिएको आयोजनाले जनाएको छ । सडक तथा पुल निर्माणका लागि विभिन्न क्षेत्रमा थोरै सङ्ख्यामा कामदार कार्यरत छन् । त्यस्तैगरी प्राविधिक इन्जिनियरको सङ्ख्या पनि निकै कम छ । आयोजना प्रमुख खरेलका अनुसार एक इन्जिनियरले दुइ जिल्लाको सडक र पुल हेनुपर्छ ।

क्षतिपूर्ति र मुआब्जा विवाद उत्तिकै

हुलाकी राजमार्ग निर्माण गर्ने विभिन्न क्षेत्रहरुमा जग्गासम्वन्धि मुआब्जा र क्षतिपूर्ति नदिँदा काम अलपत्र परेका छन् । सडक विस्तार गर्न वन, वातावरण, विद्युत् विस्तार जस्ता समस्या आउने गरेका छन् । अहिले चितवन निकुञ्ज क्षेत्रबाट सडक विस्तार गर्नुपर्दा वन समस्याले पुल निर्माणको कामसमेत अलपत्र परेको आयोजनाले जनाएको छ ।