‘अहिले हामीले हाई स्पिड, चर्को हर्न, ओभरटेकिङ, मोटरसाइकल तथा स्कुटरलाई मोडिफाइङ एवम् बटुवा तथा सडक वरिपरिका पसललाई वाक्कदिक्क पार्ने गरी ठूलो आवाजमा मोटरसाइकल कुदाउनेलाई विशेष प्रथामिकतामा राखेका छौं,’ एसएसपी पन्तले क्यापिटल नेपालसँग भने ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाले मोटरसाइकल तथा स्कुटीलाई लक्ष्य गरी एक हप्ते कार्यक्रम आयोजना गरेको छ । विशेषगरी हाल बजारमा भित्रिएका उच्च क्षमताका मोटरसाइकलले बढी दुर्घटना गराउने भन्दै महाशाखाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
यातायात व्यवस्था विभागसँगको समन्वयमा यो एक हप्ते कार्यक्रम सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए । पन्तका अनुसार उपत्यकामा दुई पाङ्ग्रे सवारीसाधन अस्तव्यस्त भई दिनानुदिन दुर्घटना तथा मृत्यु हुने गरेको छ । एसएसपी पन्तले आज बिहान मात्रै तीन सय चारभन्दा बढी मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरिसकेको जनाएका छन् । कारबाहीमा अधिकांश कलेजमा अध्ययन गर्ने विद्यार्थी तथा अन्य युवाकै जमात बढी भएको बताए ।
‘अहिले हामीले हाई स्पिड, चर्को हर्न, ओभरटेकिङ, मोटरसाइकल तथा स्कुटरलाई मोडिफाइङ एवम् बटुवा तथा सडक वरिपरिका पसललाई वाक्कदिक्क पार्ने गरी ठूलो आवाजमा मोटरसाइकल कुदाउनेलाई विशेष प्रथामिकतामा राखेका छौं,’ उनले क्यापिटल नेपालसँग भने । उनले नियमभन्दा बाहिर गएर मोटरसाइकल हाँकेको थाहा पाए कुनै कसर बाँकी नराखी कारबाही गरिने प्रतिबद्धता समेत जनाएका छन् । यसका लागि महाशाखाले उपत्यकाभरि रहेका ट्राफिक प्रहरी वृत्तहरुमा पत्राचार गरिसकिएको छ । उनले नियम विपरीत गर्ने दुईपाङ्ग्रे सवारीसाधनलाई पाँच सय रुपैयाँ जरिवाना गरिँदै आएकोमा अबदेखि एक हजार गरिने बताए ।
केही दिनअघि नै उपत्यकाका सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापन महाशाखाले नयाँ कार्ययोजना बनाउने तयारीमा जुटेको थियो । विशेषगरी उच्च ध्वनिप्रदूषण गर्ने पुराना स्कुटर तथा मोटरसाइकललाई विस्थापन गरी जाम, दुर्घटनालगायत अन्य विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नयाँ कार्ययोजना तयार गर्न लागिएको ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिएका थिए ।
उपत्यकामा महँगा मोटरसाइकलले नै ध्वनि प्रदूषण गरिरहेको पाइएको छ । त्यस्ता ध्वनि प्रदूषण गर्ने मोटरसाइकलको मूल्य पाँच लाखदेखि एक करोड रुपैयाँसम्म पर्छ । यस्ता बाइकले बाटो हिँड्नेलाई मात्र नभएर सडक वरिपरिका घरमा बस्ने मानिसलाई समेत वाक्कदिक्क पारेको उजुरी आउने गरेको पन्तको भनाइ छ । त्यहि उजुरी तथा आम सर्वसाधारणको गुनासोलाई ध्यानमा राख्दै महाशाखाले यो कार्यक्रम सञ्चालनमा ल्याएको पन्तले जानकारी दिए ।
पन्तले अब दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न कुनै पनि कसर बाँकी नराख्ने जनाए । ‘अब पहिलाको जस्तो जे गरेपनि हुन्छ भनेर नसोचे हुन्छ, ट्राफिक प्रहरी चुपलागेर बस्दैन, नियम नमान्ने चालक तथा व्यवसायीलाई कडाभन्दा कडा सजाय दिने छौं,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने ।
अब मोटरसाइकल चालकसहित पछाडि बस्ने यात्रुले पनि हेलमेट लगाउनु पर्ने नीति ल्याइँदै छ । विश्वका प्रायः मुलुकमा बाइकमा बस्ने दुवै जनाले हेलमेट लगाउनु पर्ने नियम छ, तर नेपालमा केही वर्षदेखि यो अवधारण आएपनि कुनै पहल हुन नसकेको उनले बताए । ‘अब त्यो अवस्था सिर्जना हुन दिन्नौं,’ एसएसपी पन्तले भने ।
उपत्यका लगाएत मुलुकका सबै स्थानमा साना मोटरसाइकलका कारण ठूला सवारीसाधन दुर्घटना भई ठूलो मावीय एवम् आर्थिक क्षति व्यहोर्नु परेको भन्दै पन्तले यो समस्या समाधान गर्न नयाँ नीति ल्याइएको जानकारी दिए ।