ईआईए निर्णय नहुँदा हुलाकी राजमार्गका नौ पुल अलपत्र

तीन वर्षमा निर्माण सक्नुपर्ने ती पुल निर्माणको समय एक वर्ष बितिसकेको छ । बाँकी दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुलको जग बस्न सकेको छैन ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी परिमार्जित ऐन कार्यान्वयन हुन नसक्दा हुलाकी राजमार्गमा बन्ने नौ ओटा पुल अलपत्र परेका छन् । विगत एक वर्षपहिले निर्माण सुरु गर्नुपर्ने ती पुलहरुको जग राखिएको छैन ।

हुलाकी राजमार्गको छोरी—माडी—भरतपुर खण्डअन्र्तगत चितवन राष्ट्रिय निकुञ्जमा पर्ने त्यस्ता पुलहरुको निर्माण अझै सुरु हुन नसकेको हुलाकी राजमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । उनले वातावरण मन्त्रालयले विसं २०७० सालमा ईआईए स्वीकृत गरेका उक्त पुलहरु ऐन परिमार्जन भएपछि अलपत्र परेको बताए ।

‘पुल निर्माणका लागि विसं २०७० मा ईआईए भएको थियो । पछि ईआईएसम्बन्धी ऐन परिमार्जित भएर आयो,’ उनले भने, ‘त्यसपछि पटक पटक छलफल भए । तर, ईआईए निर्णय नहुँदा पुल अझै बन्न सकेका छैनन् ।’ तीन वर्षमा निर्माण सक्नुपर्ने ती पुल निर्माणको समय एक वर्ष बितिसकेको छ । बाँकी दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुलको जग बस्न सकेको छैन ।

पुल निर्माणका लागि ठेक्का सम्झौता एक वर्ष अगाडि नै भएपनि अहिले काम गर्ने ठेकेदारलाई समेत क्याम्प बनाएर बस्न अवरोध गरिएको छ । हुलाकी राजमार्ग अन्र्तगतको त्यस क्षेत्रमा बाह्रैमास यातायात सञ्चालन गर्न पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

पुल निर्माणको प्रक्रियालाई अगाडि बढाउन वन तथा वातावरण मन्त्रालयसँग छलफल र वार्ता भइरहेको खरेलले बताए । ‘ईआईएसम्बन्धी प्रक्रिया अगाडि बढाउन त्यसको ड्राफ्ट मन्त्रालयमा पठाइसकिएको छ,’ उनले भने, ‘अझै कुनै निर्णय भएको छैन ।’ उनले ईआईए स्वीकृत भएर आए बर्खा सकिएलगत्तै पुल निर्माणको काम सुरु गर्न सकिने बताए ।

साना/ठूला गरी नौ पक्की पुलमध्ये प्रति पुल तीन देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।