खेल पारखी गणेश तिमिल्सिनाले रेष्टुरेन्टमा खेल हेर्दै खानपिनको मज्जा बढी हुने बताए । ‘यसै त फुटबल मन पर्ने गेम, अझ विश्वकप । यो महाभारत हेर्न एक महिनाको रुटिङ बनाइसकेको छु,’ उनले भने ।
बिहीबारदेखि विश्वकप २०१८ रुसको राजधानी मस्कोमा सुरु हुँदै छ । त्यसको रौनक विश्वभर छाएको छ । यो रौनकमा नेपाल पनि अछुतो छैन । विश्वकपको अर्थतन्त्र अहिले विश्वभर उकालो लागिरहेको छ । विश्वकपको ट्यागलाइनमा जर्सी, बाजी, यौनदेखि रेष्टुरेन्टको व्यापारसमेत बढ्दो छ । नेपालमा पनि विश्वकपको ट्यागलाइनमा रेष्टुरेन्टहरुले आफ्नो व्यापारलाई चम्काउन सबै तयारी पूरा गरेका छन् ।
नेपालमा साना तथा ठूला होटल, रेष्टुरेन्टले विश्वकपको खेलसँगै आफ्नो मेन्युलाई पनि परिवर्तन गरेका छन् । खेल देखाउन ठूला प्रोजेक्टर र ग्राहकलाई विभिन्न स्किम दिएर आकर्षित गर्न थालेका छन् । विश्वकपका पारखीहरुलाई लक्ष्य गरी उपत्यका तथा बाहिरका होटल, रेष्टुरेन्ट, लाउन्ज तथा क्लबमा लाइभ प्रसारण गर्ने भएका छन् ।
विशेषगरी राजधानीभित्र रहेका सानादेखि ठूला होटलले प्रोजक्टरमार्फत विश्वकप २०१८ देखाउन जोड दिएका छन् । करिब ५० देखि १५ सय जनासम्म क्षमता भएका रेष्टुरेन्ट तथा क्लबहरुले ग्राहक तान्न अफर र सुविधा दिएका छन् । घरमा सानो टेलिभिजनमा भन्दा रेष्टुरेन्ट तथा लाउन्जमा बसेर ठूलो पर्दामा विश्वकप हेर्दा बेग्लै मज्जा आउने दर्शकहरुको भनाइ छ । होटलको फरक स्वादका साथ विश्वकपको मज्जा नै बेग्लै हुन्छ ।
दरबारमार्गस्थित होटल अन्नपूर्णले विश्वकपलाई लक्ष्य गरी दुई ठाउँमा प्रजेक्टरमार्फत विश्वकप प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अन्नपूर्णले करिब ५० देखि ७० जनासम्म अटाउने व्यवस्था मिलाइसकेको होटलका असिस्टेन्ट म्यानेजर बिशन शाहले जानकारी दिए । ‘हामीले प्रोजेक्टरबाट विश्वकपको प्रत्यक्ष प्रसारण मात्र नभई बियर र फुडमा पनि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘यो अफर विश्वकप चलुन्जेल रहने छ ।’
कमलादीमा रहेको लिटल इटाली रेष्टुरेन्टले पनि ५० भन्दा बढी व्यक्तिले हेर्न मिल्ने प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने रेष्टुरेन्टका म्यानेजर इन्द« पौडेलले जानकारी दिए । ‘पहिले भएका खेलहरुमा पनि यो सेवा दिएका थियौं, यो वर्ष अझ फरक तरिकाले ग्राहकलाई यो सेवा दिन लागेका छौं,’ पौडेलले भने । अहिले बियर लगाएतका पेय पदार्थ तथा अन्य खानेकुरामा पनि छुट दिने योजनामा रहेको पौडेलले बताए ।
गोकर्ण फरेष्ट रिसोर्टले पनि भव्यरुपमा विश्वकपको प्रत्यक्ष पसारण गर्ने भएको छ । रिसोर्टले एक
ठाउँमा ठूल्ठूला प्रोजेक्टर राखिसकेको र पर्यटक तथा ग्राहकको आगमनसँगै लाइभ स्क्रीन पनि थपिने रिसोर्टकी मार्केटिङ असिस्टेन्ट म्यानेजर छिरिङ् दिकी लामाले जानकारी दिइन् । उनका अनुसार रिसोर्टमा ६० देखि ८० जनासम्मले एकै स्थानमा बसेर विश्वकपको मज्जा लिन सकिन्छ । ‘जेठ ३१ देखि हामीले खानेकुरामा पनि प्याकेज ल्याएका छौं,’ उनले क्यापिटलसँग भनिन् ।
स्काई लाउन्जले पनि प्रोजेक्टरको माध्यमबाट विश्वकप देखाउने भएको छ । सय जनाभन्दा धेरैले हेर्न मिल्ने स्थान भएको यो लाउन्जले आफ्ना ग्राहक तथा दर्शकलाई पेय पदार्थ र खाद्य परिकारमा छुट पनि दिने बताएको छ । हात्तीसारमा रहेको लाउन्जले ग्राहकलाई विश्वकपका सबै खेल देखाउने बताएको छ । बसुन्धरामा रहेको रेन्बो होटल एन्ड रेष्टुरेन्टले ७० देखि सय जनासम्म अटाउने व्यवस्था मिलाइसकेको जानकारी दिएको छ । विश्वकप हेर्न आउने ग्राहका लागि खानामा १५ प्रतिशत छुट समेत दिने भएको छ ।
त्यस्तै विश्वकप फुटबललाई विशेष बनाउने तयारी पूरा गरेको दरबारमार्गस्थित किङ्ग्स लाउन्जले प्रोजेक्टर मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेस्टुरेन्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न र विश्वकपको मज्जा लिन सकून् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुरेन्टको सुरुवात गरेका हौं ।’ यहाँ २० बाई ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउन पाइने आयोजकको भनाइ छ । लाउन्जमा एक सय ५० भन्दा बढीले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाउने छन् ।
नेपालकै चर्चित क्लब देजा भुले पनि विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । देजा भुमा हजारदेखि १५ सय जनाले लाइभ हेर्न सक्ने क्लबका सञ्चालकको भनाइ छ । विश्वकपभरि क्लबले बियर तथा अन्य खाने कुरामा छुट दिने जनाएको छ ।
नयाँ बनेश्वरमा रहेको रेड डाइमन्ड होटलले पनि विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । होटलका सञ्चालक विष्णु तामाङले तीन ठाउँमा गरी ७० जना अट्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले खेल अनुरुपको खाना समेत उपलब्ध हुने बताए ।
विश्वकपको मज्जा साथीभाइसँग रेष्टुरेन्टमा बसेर हेर्नुमा नै हुने नयाँ बजार सोह्रखुट्टेका अमित पौडेलले बताए । ‘कुन गेम कसरी र कहाँ हेर्ने भन्ने योजना बनिसकेको छ,’ उनले भने । रेष्टुरेन्टमा फ्री स्टाइलले हेने पाइने भएकाले पनि अधिकांश गेम रेष्टुुरेन्टमा नै हेर्ने उनले बताए ।
अर्का खेल पारखी गणेश तिमिल्सिनाले रेष्टुरेन्टमा खेल हेर्दै खानपिनको मज्जा बढी हुने बताए । ‘यसै त फुटबल मन पर्ने गेम, अझ विश्वकप । यो महाभारत हेर्न एक महिनाको रुटिङ बनाइसकेको छु,’ उनले भने ।
त्यस्तै नगरकोटस्थित क्लब हिमालय, काठमाडौंको ¥याडिसन, साङ्ग्रिला, व्यञ्जन रेष्टुरेन्ट, ओजन क्लब, ब्राउन आइज रेष्टुरेन्ट तथा पोखराको होटल माउन्ट भ्यू लगायतले पनि खाना र ड्रिङ्क्समा छुट दिँदै प्रोजेक्टर मार्फत विश्वकप लाइभ प्रसारण गर्ने भएका छन् ।