मिटरमा जान नमान्ने, अटेर गर्ने, उपभोक्तालाई चर्को भाडा तिराउने ट्याक्सीलाई सरकारले दर्ता खारेज प्रक्रिया अघि बढाइसकेको मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताए । त्यस्ता ट्याक्सी तथा अन्य व्यवसायीलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने उनको भनाइ छ ।
सरकारले मिटरमा तथा बिल प्रिन्टिङ सिस्टममा जान नमान्ने ट्याक्सीको २४ घण्टाभित्र दर्ता खारेज गर्ने भएको छ । केही महिनाअघि सरकारलाई मिटरमा नजाने ट्याक्सीलाई कारबाही गर्न निर्देशन दिए पनि अनुगमन भएको थिएन । काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा भौतिक पूर्वधार यातायातमन्त्री रघुवीर महासेठले यस्तो बताएका हुन् ।
मिटरमा जान नमान्ने ट्याक्सीको दर्ता खारेज मात्र नभई सेवाग्राहीलाई ठग्ने, अवैध रकम असुली गर्ने ट्याक्सी व्यवसायीलाई आर्थिक जरिवाना समेत गरिने उनले बताए । उपभोक्ता मारमा पार्ने, ठग्ने खालका क्रियाकलाप गर्ने चालकलाई कारबाही गर्नुका साथै सवारीसाधन पनि जफत गर्न सरकार पछि नहट्ने उनको भनाइ छ । मन्त्रीको उक्त कदम स्वागतयोग्य रहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । विभागले पनि उपत्यकामा गुड्ने ट्याक्सी व्यवस्थापन तथा अनुगमनमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । उपभोक्ताको हितका लागि विभागबाट २४ घण्टे सेवासुविधा उपलब्ध गराउने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
मिटरमा जान नमान्ने, अटेर गर्ने, उपभोक्तालाई चर्को भाडा तिराउने ट्याक्सीलाई सरकारले दर्ता खारेज प्रक्रिया अघि बढाइसकेको मन्त्रालयका सचिव मधुसूदन अधिकारीले बताए । त्यस्ता ट्याक्सी तथा अन्य व्यवसायीलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने उनको भनाइ छ ।
आफूहरुले पनि ट्याक्सी अनुगमनलाई निरन्तरता दिन लागेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । केही हप्ताअघि महानगरीय ट्राफिक व्यवस्थापन महाशाखामा नयाँ एसएसपीको आगमनका कारण अनुगमन कार्य रोकिएको उनले यसअघि पनि बताएका थिए ।
अहिले उपत्यकामा १० हजार पाँच सय ट्याक्सी छन् । तीमध्ये आठ हजार तीन सय ट्याक्सीमा बिलिङ प्रिन्टिङ मेसिन जडान गरिसकिएको छ । आगामी आर्थिक वर्षबाट नयाँ कार्ययोजना तयार गरी उपत्यकामा ट्याक्सी बिल प्रिन्ट प्रणालीलगायत अन्य सेवासुविधालाई कडाइका साथ निरन्तरता दिने उनको भनाइ छ ।
हाल उपत्यकामा चल्ने ट्याक्सीले कुनै पनि बिल नदिने तथा मिटरमा जान नमानिरहेको सेवाग्राहीको गुनासो छ । ‘आपत्कालीन अवस्थामा त झन् मौकाको फाइदा उठाउन खोज्छन् ट्याक्सी चालक’, एक सेवाग्राहीले भने । महानगरीय ट्राफिक व्यवस्थापन माहशाखाका एसएसपी पन्तले पनि ट्याक्सी बिल पिन्ट सिस्टम तथा मिटर अनुगमनलाई कडाइका साथ उच्च प्रथामिकतामा राखेको बताए ।