रसुवागढी नाका जोड्ने सडक साढे २ वर्ष बित्दा पनि बनेन

चैतदेखि नै निरन्तर वर्षा भइरहेकाले कालोपत्रे सुरु गर्न नसकिएको आयोजनाले जनाएको छ । त्यस्तैगरी त्रिशूलीदेखि स्याफ्रुबेसी खण्डमा नेपाली सेनाले भर्खरै ट्रयाक खोली आयोजनालाई हस्तान्तरण गरेको छ । तर, अन्य काम हुन सकेको छैन ।

रसुवागढी नाका जोड्ने गल्छी—त्रिशूली—स्याफ्रुवेशी—रसुवागढी सडक निर्माण सुस्त बन्दै गएको छ । विसं २०७२ मङ्सिरदेखि निर्माण सुरु भएको उक्त सडक खण्डको काममा ढिलाइ भएको हो । २१ महिनामा डबल लेनको सडक रसुवागढी नाकासम्म निर्माण गर्नुपर्ने लक्ष्य रहेपनि अहिलेसम्म २२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

गल्छीदेखि त्रिशूली खण्डमा चैतमै गर्नुपर्ने ५ किलोमिटर कालोपत्रे अझै सुरु हुन सकेको छैन । चैतदेखि नै निरन्तर वर्षा भइरहेकाले कालोपत्रे सुरु गर्न नसकिएको आयोजनाले जनाएको छ । त्यस्तैगरी त्रिशूलीदेखि स्याफ्रुबेसी खण्डमा नेपाली सेनाले भर्खरै ट्रयाक खोली आयोजनालाई हस्तान्तरण गरेको छ । तर, अन्य काम हुन सकेको छैन । सडक कालोपत्रे लगायतका अन्य काम गर्न सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भइसकेको र आगामी असार दोस्रो सातासम्म टेन्डर आह्वान गरिने आयोजनाको भनाइ छ ।

यस वर्ष २५ प्रतिशत प्रगति पु¥याउने लक्ष्य लिइए पनि २२ प्रतिशतमै सीमित भएको छ । ६४ किलोमिटर उक्त सडक खण्डमध्ये स्याफ्रुबेसी—रसुवागढी खण्डको १८ प्रतिशत चीन सरकारले काम गरिरहेको छ । उत्तरी छिमेकी चीनसँग जोड्ने लाइफ लाइन मानिने उक्त सडक विस्तार भएपछि दुईदेशीय पारवहनमा सहज हुने छ । उक्त सडक गल्छी, वेत्रावती धुन्चे, स्याफ्रुबेसी र रसुवागढी हुँदै केरुङसम्म पुग्छ ।

ट्रयाक खोल्न कस्ता छन् समस्या ?

जग्गाको मुआब्जा, प्राधिकरणले विद्युतीय हाइटेन्सन लाइन व्यवस्थापन नगर्नु, पक्की पुल निर्माणमा हुने समस्या, सरोकारवालासँग समन्वय नहुनु, ठेकेदार छनोटमा लम्बिँदो प्रक्रियाका कारण उक्त सडक निर्माणमा ढिलाइ भइरहेको आयोजनाका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । सडक विस्तारका लागि आवश्यक सामग्री गिट्टी, बालुवा निकाल्न स्थानीय सरकारबाट अवरोध हुने, स्थानीयबासीको विवाद, नापी र मालपोतले समयमै लगत कट्टा नगरिदिँदा मुआब्जा समस्या, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिसम्बन्धी समस्या, राजनीतिक चलखेल लगायतका समस्याका कारण सडक निर्माणमा ढिलाइ भएको देवकोटाले बताए ।

करिब सवा अर्ब मात्रै पूँजीगत खर्च

सडक विस्तार तथा स्तरोन्नति गर्न १४ पक्की पुलसहित ९ अर्ब लागत अनुमान गरिएको भएपनि खर्च निकै कम देखिएको छ । हालसम्म करिब सवा अर्ब मात्रै खर्च भएको आयोजनाले बताएको छ । यस वर्ष करिब ७० करोड रुपैयाँ छुट्याएर सडक स्तरोन्नतिको काम भइरहेको प्रमुख देवकोटाले बताए । उनले सडक स्तरोन्नतिका लागि समग्रमा ९० प्रतिशत ‘फाइनान्सिङ क्लोजर’ भइसकेको बताए ।

अझै दुई वर्ष लाग्ने

आयोजना प्रमुख देवकोटाका अनुसार रसुवागढी नाकासम्म पुग्ने उक्त सडकखण्ड सुरुमा २१ महिनामै सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको थियो । निर्माण गर्नुपर्ने अवधि पूरा भई करिब एक वर्ष बित्दासमेत प्रगति सन्तोषजनक देखिएको छैन । सडक विस्तार तथा स्तरोन्नति गर्दा कुनै समस्या नआएको खण्डमा आगामी दुई वर्षभित्र सम्पन्न गर्न सकिने देवकोटाको भनाइ छ ।