हट्यो लोडसेडिङ, हटेन जेनेरेटर

सरकारले गुणस्तरीय विद्युत् उपलब्ध गराउन सके मात्रै लोडसेडिङ अन्त्य हुने व्यवसायीले बताएका छन् । लोडसेडिङ हुनु र नहुनुमा कुनै अर्थ नरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

सरकारले उद्योग क्षेत्रमा रहँदै आएको लोडसेडिङ गत वैशाखदेखि अन्त्य गरे पनि उद्योगीले जेनेरेटर विस्थापित गर्न सकेका छैनन् । सरकारले उपलब्ध गराउने विद्युत् गुणस्तरीय नभएकै कारण उद्योगीले जेनेरेटर विस्थापित गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

सरकारले गुणस्तरीय विद्युत् उपलब्ध गराउन सके मात्रै लोडसेडिङ अन्त्य हुने व्यवसायीले बताएका छन् । लोडसेडिङ हुनु र नहुनुमा कुनै अर्थ नरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । ‘नाम मात्रैको लोडसेडिङ अन्त्य भएको छ,’ उनले भने, ‘गुणस्तरीय विद्युत् अहिलेसम्म आपूर्ति हुन सकेको छैन ।’ लामो समयदेखि उद्योग क्षेत्रमा हुँदै आएको ४ घण्टा लोडसेडिङ गत बैशाख ३० गते अन्त्य भएको घोषणा गरिएको थियो ।

उद्योग/कारखाना चलाउँदा बीचमै लाइन कटिनाले समस्या झन् बढेको छ । उद्योग क्षेत्रले आवश्यक विद्युत् पाएपछि प्रयोग हुँदै आएको जेनेरेटर हट्नुपर्ने हो तर, अझै पनि नियमित गुणस्तरीय विद्युत् आपूर्तिमा समस्या आइरहेकाले उद्योगीले जेनेरेटर हटाएका छैनन् । ‘लोडसेडिङ हट्यो भनेर घोषणा मात्रै गरियो तर, उद्योगले गुणस्तरीय विद्युत् पाएका छैनन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने, ‘लाइन ट्रिपिङ भइरहने हुँदा जेनेरेटर चलाउनु परेको छ ।’

लाइन ट्रिपिङको समस्याका कारण उद्योग क्षेत्रले लाखौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको उनको भनाइ छ । पञ्चकन्या गु्रपका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठले उद्योगलाई चाहिने बिजुली नियमित हुन नसक्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले उद्योगमा नियमित गुणस्तरीय विद्युत् दिन नेपाल विद्युत् प्राधिकरणले ठोस पहल गर्नुपर्ने बताए ।

उद्योग क्षेत्रमा लोडसेडिङ नभएको र गुणस्तरीय विद्युत् आपूर्ति गर्न ‘लाइन ट्रिपिङ’ लगायत अन्य समस्या हटाउन पहल गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले लाइन ट्रिपिङ समस्या हटाउन उद्योगहरुले क्यापासिटर बैङ्क अनिवार्य रुपमा राख्न आग्रह गरेको बताए । ‘उद्योगले नियमित विद्युत् पाइरहेका छन्, लोडसेडिङ छैन,’ उनले भने, ‘समस्या मात्र लाइन ट्रिपिङको हो । त्यसका लागि सबै उद्योगलाई अनिवार्य रुपमा क्यापासिटर बैङ्क राख्न भनेका छौँ ।’

उद्योगले गुणस्तरीय विद्युत् नपाएको भन्ने उद्योगीहरुको गुनासो बढेपछि प्राधिकरणले उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ सय ४० उद्योगमध्ये ४३ उद्योगले मात्र क्यापासिटर बैङ्क राखेको फेला परेको थियो । क्यापासिटर बैङ्क नराख्दा उद्योगलाई आवश्यक विद्युत् लोड सन्तुलन नहुने भएकाले ट्रिपिङ समस्या देखिएको प्राधिकरणले जनाएको छ ।