मुआब्जा विवादमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

कुल २ सय ५० व्यक्तिको जग्गा मुआब्जा दिनुपर्ने भए पनि अहिलेसम्म झन्डै ५० जना व्यक्तिलाई ५ करोड मुआब्जा वितरण गरिसकिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुआब्जा वितरणमा समस्यामा देखिएको छ । मुआब्जाकै समस्याका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । कुल ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने उक्त आयोजनामा अहिलेसम्म करिब ५ लाख मात्रै मुआब्जा मात्रै वितरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । कुल २ सय ५० व्यक्तिको जग्गा मुआब्जा दिनुपर्ने भए पनि अहिलेसम्म झन्डै ५० जना व्यक्तिलाई ५ करोड मुआब्जा वितरण गरिसकिएको उनको भनाइ छ ।

विमानस्थल निर्माणलाई अगाडि बढाउन प्रक्रियागत ढङ्गले तीव्र रुपमा काम भइरहे पनि मुआब्जा वितरणको प्रगति भने सुस्त देखिएको हो । २०३२ सालमा मुआब्जाको सूचीमा परेका व्यक्तिहरु र निवेदन आएकालाई मुआब्जा पाएका छन् । आयोजना निर्माणको भित्र र बाहिर जग्गा पर्ने व्यक्ति, फिनिसिङ गरिएको भित्र र बाहिर पर्ने चार कित्ता जग्गामध्ये ३ कित्ताको मुआब्जा दिइएको छ । उनीहरुले ४ कित्ताको नै मुआब्जा माग गरिरहेको र त्यो दिन मन्त्रालयबाट स्वीकृत हुनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि मुआब्जा वितरणमा समस्या देखिएको प्रमुख मुनकर्मीले बताए ।
कुल २ सय ५० व्यक्तिको जग्गा रहे पनि एक सय ८० जनाले मात्रै मुआब्जा पाउन निवेदन दिएको आयोजनाले जनाएको छ । प्रतिरोपनी कच्ची बाटोमो पर्ने जग्गाका लागि ७९ लाख, बाटो नभएको क्षेत्रको जग्गा प्रतिरोपनी ६० लाख र पिच भएको क्षेत्रको जग्गाको प्रतिरोपनी ८१ लाख रुपैयाँका दरले मुआब्जा वितरण भएको आयोजनाको जनाएको छ ।

आयोजना निर्माणका लागि अन्य प्रक्रिया नापी, मालपोत तथा नगरपालिका कार्यालयबाट स्वीकृत हुनुपर्छ । अहिलेसम्म एक सयभन्दा बढी फाइल स्वीकृत भइसकेको र झन्डै ६० प्रतिशत निर्माणको कार्ययोजना सम्पन्न भएको उनले बताए । चाइनाको सीएमसी इन्जिनियरिङ कम्पनीले निर्माणको ठेक्का पाएको उक्त आयोजनाको निर्माणपूर्वका आधारभूत काम जग्गा सम्याउने, नाली बनाउने, क्याम्प निर्माण, ट्याक्सी वे, टर्मिनल भवन निर्माणको काम भइरहेको छ । सन् २०१४ मा ठेक्का पाएको आयोजनामा २२ अर्बको लागत सुरुवाती स्टिमेटमा काम भइरहेको छ । चिँनिया एक्जिम बैङ्कको ऋण सहायतामा विमानस्थल निर्माण हुनेछ ।